बालुवाटारमा बुधबार आयोजित त्रिपक्षीय संवादको समापन सत्रमा प्रधानमन्त्री सुशीला कार्कीले देशप्रति आफ्नो जिम्मेवारी र प्रतिबद्धता स्पष्ट पार्दै भावनात्मक मन्तव्य दिइन्। समापन मन्तव्यका क्रममा उनले भनिन्, “म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमप्रकाश अर्याल र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ भनेकी थिएँ। तर जब देशले खोज्यो, जिम्मेवारी नलिने अधिकार थिएन।” प्रधानमन्त्री कार्कीले जनआन्दोलनका क्रममा सहिद भएका युवाको बलिदान र घाइतेहरूको पीडा सम्झँदै आफू त्यही सम्झनाबाट प्रेरित भएको बताइन्। उनका अनुसार, “जेनजीका युवाहरू मेरो घरमै आएर अभिभावकत्व लिइदिन आग्रह गरे। गोली लागेका निर्दोष युवाहरूको अनुहार सम्झिँदा मलाई लाग्यो— केही गर्नैपर्छ। त्यसपछि म दृढ अठोटका साथ अघि बढेँ।” उनले सरकार परिवर्तनकामी युवाको आवाज सम्बोधन गर्न, सहिद परिवार र घाइतेहरूलाई न्याय दिलाउन र देशमा स्थायित्व ल्याउन केन्द्रित रहेको बताइन्। “हामी चुनावमा केन्द्रित छौँ। हरेक दिन छलफल र गृहकार्य भइरहेका छन्। अविश्वास चिर्दै आत्मविश्वास जगाउँदै अघि बढिरहेका छौँ,” प्रधानमन्त्रीको भनाइ थियो। कार्कीले भ्रष्टाचार, शोषण र विभेदविरुद्ध सरकार कडा रूपमा उत्रिएको दाबी गर्दै भनिन्, “यदि कसैले भ्रष्टाचार गरेको भेटिए, मेरै स्वर्गीय बुवालाई पनि थुन्न तयार छु।” उनका अनुसार, सरकारले थन्क्याइएका फाइलहरू खोल्दै छ र जिम्मेवार व्यक्तिहरूमाथि कारबाही अघि बढाइएको छ। विदेशी हस्तक्षेपसम्बन्धी चर्चामा प्रधानमन्त्री कार्कीले स्पष्ट भइन्— “यहाँ मलाई कुनै विदेशीले केही गर्न वा नगर्न भनेको छैन। यो तर्साउने हतियार मात्रै हो।” उनले विदेशीलाई दोष दिने प्रवृत्ति गलत भएको बताउँदै शिष्टाचार भेटबाहेक कुनै विदेशी हस्तक्षेप नभएको दाबी गरिन्। अन्त्यमा प्रधानमन्त्री कार्कीले आफ्नो दृढता दोहोर्याउँदै भनिन्, “म लडाकु स्वभावकी मान्छे हुँ। मेरा परिवारका सदस्यहरू पनि त्यस्तै छन्। हामी डराउँदैनौँ, भनेको पुर्याउँछौँ।” उनको समापन मन्तव्यले हालको राजनीतिक परिस्थितिमा सरकारको आत्मविश्वास, पारदर्शिता र सुधारप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा झल्काएको देखिन्छ।