काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा भएको अधिक तरलता समाधानका लागि दीर्घकालीन नीतिको अभाव देखिएको छ । सोही कारण केन्द्रीय बैंकले थुप्रिएको तरलता केही समयका लागि खिच्ने र पुनः बजारमा पठाउने गर्दै आएको हो ।
निक्षेप बढ्ने र कर्जाको माग नबढ्ने हुँदा लामो समययता बैंक तथा फाइनान्स कम्पनीहरुमा अधिक तरलता छ । केन्द्रीय बैंकले विभिन्न किसिमका मौद्रिक उपकरणमार्फत यसको समाधान गर्ने प्रयास गरे पनि यो दीर्घकालीनरुपमा हुन सकेको छैन । विगतमा अधिक तरलताको अवस्था हेरेर सात दिने, १४ दिने, २१ दिने, २४ दिने मौद्रिक उपकरण जारी गरेर अधिक तरलता नियन्त्रणमा राख्दै आएको राष्ट्र बैंकले पछिल्लो समय भने अधिक तरलता नियन्त्रणमा नआएकै कारण न्यूनतम चार दिनदेखि अधिकतम एक सय ७२ दिनमा परिपक्व हुने मौद्रिक उपकरण जारी गरेको छ ।
बैंकिङ क्षेत्रमा अधिक तरलता बढ्नुको मूल कारण निक्षेप बढ्नु तथा कर्जाको माग निकै न्यून हुनु हो । यही समस्याबाट अहिले सिंगो बैंकिङ क्षेत्र पिरोलिएको छ । यो अवस्थामा राष्ट्र बैंक स्वयम्ले भने अधिक तरलता नियन्त्रणमा राख्नको लागि चालू आर्थिक वर्ष सुरु भएदेखि यता हालसम्म २२ पटक विभिन्न अवधिका मौद्रिक उपकरण जारी गरेर बैंकिङ प्रणालीबाट ११ खर्ब २० अर्ब रुपैयाँ खिचिसकेको छ । जसमध्ये यही कात्तिक १२ र कात्तिक १५ गते जारी गरेको मौद्रिक उपकरण परिपक्व हुने बाँकी रहेको छ भने यसअघि जारी गरे मौद्रिक उपकरण जारी गरेर बैंकिङ प्रणालीबाट खिचिएको रकम परिपक्व भएपश्चात् बैंकिङ प्रणालीमा पुन फिर्ता गइसकेको छ । राष्ट्र बैंकका अनुसार परिपक्व हुन बाँकी रहेको मौद्रिक उपकरणहरुमा कात्तिक १२ गतेको एक सय ७५ दिने अवधिको ४० अर्ब रुपैयाँ बराबरको मौद्रिक उपकरण र कात्तिक नौ गते जारी गरेको ४२ दिने अवधिको ९० अर्ब रुपैयाँ बराबरको मौद्रिक उपकरण रहेको छ । यी दुई उपकरणको परिपक्व हुने अवधि क्रमशः २०८३ वैशाख नौ गते र २०८२ मंसिर २१ गते रहेको छ ।
राष्ट्र बैंकका अनुसार अधिक तरलता नियन्त्रणको लागि बैंकिङ प्रणालीबाट खिचिएको कुल ११ खर्ब २० अर्ब रुपैयाँमध्येमा असोज महिनामा क्रमशः ३५, ५०, २०, ९०, ४०, ७० र ९० अर्ब रुपैयाँको सातपटक मौद्रिक उपकरण जारी गरिएको थियो । यसैगरी, भदौ महिनामा पनि क्रमशः २५, ५०, ५५, ४५, ५०, ३० र ६० अर्ब समेत गरी सातपटक मौद्रिक उपकरण बिक्री गरिएको थियो । यसैगरी, साउन महिनामा पनि क्रमशः २५, ५०, २५, ५०, ८० र ५० अर्ब रुपैयाँको छपटक मौद्रिक उपकरण जारी गरी अधिक तरलता नियन्त्रणमा राख्ने प्रयास गरिएको थियो ।