दोलखा । जिल्लामा यतिबेला किबी टिप्ने सिजन सुरु भएको छ । यहाँका किबी किसानको सयौं हेक्टर क्षेत्रमा फैलिएको किबी कात्तिक लागेसँगै टिप्न सुरु गरिएको हो ।
पछिल्लो एक दशकमा यहाँ जिल्लाभर किबी खेती विस्तार भएको छ । जिल्लाको भीमेश्वर र जिरी नगरपालिका, शैलुङ, वैतेश्वर, मेलुङ, तामाकोशी र गौरीशंकर गाउँपालिका अन्यत्रको तुलनामा बढी किबी खेती हुने गरेको छ । गत वर्ष करिब १२ हजार मेट्रिक टनभन्दा बढी किबी उत्पादन गरेका यहाँका किसानले यस वर्ष पनि सोही हाराहारी किबी उत्पादन हुने अनुमान गरेका छन् । वैतेश्वर गाउँपालिका–३ मिर्गेका स्थानीय किबी किसान सुकुमान तामाङले किबी टिप्ने बेला भएको बताए ।
उनले ब्रोनो जातको किबी लगाएका छन् । उनका अनुसार मिर्गेबाट मात्रै वार्षिक ३० लाख बराबरको किबी निर्यात हुँदै आएको छ । यहाँका ३०/३५ जना किसानले किबी खेती गर्दै आएका छन् । सबैभन्दा राम्रो ग्रेडिङ भएको ब्रोनो जातको किबीको मूल्य दुई सयदेखि तीन सय रुपैयाँमा बिक्री हुने गरेको उनले बताए । मिर्गेमा रेड हेवार्ड, एलिसन, मोन्टीलगायत जातको किबी पनि उत्पादन हुने गरेको छ ।
जिल्लाभर विभिन्न छ जातको किबी रोपन हुँदै आएको छ । बजारमा सबैभन्दा राम्रो मूल्य आउने किबीको जात रेड किबी हो । रेड र ब्रोनो जातको किबीको एउटै बोटबाट २० देखि ३५ केजीसम्म किबी फल्ने गरेको स्थानीय किसान विलव तामाङले बताए । उनले ५० बोट किबी लगाएका छन् । ५० बोटबाट पाँच सय केजी हाराहारीमा किबी उत्पादन हुने गरेको उनले जानकारी दिए । यहाँका किसानहरुले सरकारले किबीलाई ब्रान्डिङ गर्न तथा भण्डारको लागि कोल्डस्टोर निर्माण गर्न नसकेको गुनासो गरेका छन् । किबीको भण्डारण केन्द्र निर्माण तथा ब्रान्डिङ गर्न नसक्दा उत्पादित किबी खेर जाने गरेको उनीहरुको दुखेसो छ ।
कतिपय प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका किबी भण्डारण केन्द्र अहिले पनि प्रयोगविहीन छन् । स्थानीय सरकारले उक्त चिस्यान केन्द्रलाई प्रयोगमा ल्याउन नसक्दा पनि लामो समयसम्म किबी राख्न नसकिएको यहाँका किबी किसानहरूले बताउँदै आएका छन् ।