पशुपतिनगर (इलाम) । मेची राजमार्गमा जिल्ला प्रशासन कार्यालय इलामले रातको समय बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले मोन्था चक्रवातका कारण वर्षा हुने र बाढीपहिरोको प्रकोप हुन सक्ने भएपछि मेची राजमार्गमा जोखिम कम गर्नका लागि रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।
गत असोज १८ गतेको बाढीपहिरोपछि मेची राजमार्गको माइखोला (राजदुवाली) सडक खण्डसहित विभिन्न स्थानमा बाढीपहिरोले थिलथिलो भएको जमिनमा फेरि पहिरो जान सक्ने भएपछि सबै क्षेत्रमा सजगता अपनाइएको हो ।
आज र भोलि दुई दिनका लागि इलामको माइजोगमाई गाउँपालिकाले विद्यालय बन्द गरेको छ । गाउँपालिका अध्यक्षक कुशबहादुर थेवेले इलामका अधिकांश स्थानमा बिहानैदेखि सिमसिमे पानी परिरहेको हुँदा पालिकाले बालबालिकाको सुरक्षाका लागि विद्यालय बन्द गरेको जानकारी दिए ।