नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेका पूर्व सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ गठन गरेका छन्। उनले बिहीबार दल दर्ताको प्रयोजनका लागि निर्वाचन आयोगमा औपचारिक रूपमा निवेदन दर्ता प्रक्रिया सुरु गरेका हुन्। चौधरीसहित उनका सहकर्मी नेताहरू एउटै पोशाकमा आयोग पुगेका थिए। उनीहरूले दल दर्ताका आवश्यक कागजात आयोगमा पेश गरेका छन्। नयाँ दलको चुनाव चिन्हका रूपमा ‘जाँतो’ माग गरिएको चौधरीको टोलीले जनाएको छ। चौधरीसँगै डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका थिए। अब्दुलसहित पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत पार्टी छाड्ने घोषणा गरेका थिए। टीकापुर घटनापछि भूमिगत रहँदा समेत भारी मतले सांसद निर्वाचित भएका चौधरीले पछि सार्वजनिक रूपमा निस्किएर पार्टी खोलेका थिए। पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ (उनकी श्रीमती समेत) सँग उनको मतभेद बढ्दै गएको थियो। श्रेष्ठ र चौधरीबीच पार्टीको दिशा र नेतृत्वको विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो, जसपछि चौधरीले नयाँ दलको घोषणा गरेका हुन्।