काठमाडौं । एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानहरुमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । यसका साथै ती स्थानका ग्राहकहरुले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् ।
आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियान अन्तर्गत एनसेलले मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवा थप टावरहरुका साथ सुधार गरेको छ । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै एनसेलले चाडपर्वका बेलामा पनि आफ्नो नयाँ टावरको कार्यहरुलाई तीव्रता दिँदै गत १० दिनमा यी २०वटा नयाँ टावरहरु सञ्चालनमा ल्याएको हो । नयाँ टावरहरुको सञ्चालनले ती क्षेत्रका ग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको कम्पनीको दाबी छ ।
एनसेलले मधेश प्रदेशमा १३ नयाँ टावरहरु सञ्चालनमा ल्याएको छ । बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर, र रौतहटको यमुनामाई र माधव नारायणमा नयाँ टावर सञ्चालनमा ल्याएको हो ।
कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढीमा चार र मोरङको बबियाविर्ता र मजारेमा दुई गरी छवटा नयाँ टावर सञ्चालनमा आएका छन् । बागमती प्रदेशको हेटाँैडा (मकवानपुर)मा एक टावर जडान गरी सञ्चालनमा ल्याइएको छ । एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने कम्पनीको प्रतिबद्धताअनुरूप फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेको बताए । आगामी दुई दिनभित्र थप १० वटा नयाँ टावर सञ्चालनमा ल्याउने योजनामा रहेको पनि उनले जानकारी दिए ।
नयाँ टावरका लागि उपकरण आयातमा बन्देजका बेलामा पनि एनसेलले देशका विभिन्न भागमा आफ्ना पुराना उपकरणहरुका प्रयोग गर्दै यो वर्ष ४० भन्दा बढी नयाँ टावर जडान तथा सञ्चालन गरेर सेवा विस्तार र सुधार गरेको थियो । फोरजी सेवा विस्तार र सुधार योजनाअनुसार, एनसेलले अबको दुई महिनाभित्र देशका सबै प्रदेश समेटिने गरी थप एकसय ७० भन्दा बढी नयाँ टावरहरु जडानका लागि काम गरिरहेको जनाएको छ । यी टावररुको जडान र सञ्चालनले सेवा पहुँच र गुणस्तरलाई थप सुदृढ बनाउने एनसेलले जनाएको छ ।