काठमाडौं । सोलुखुम्बुको लुक्लास्थित पासाङल्हामु निकोल निक्की अस्पतालले आफ्नो २०औँ वार्षिकोत्सव मनाउँदै दुई दशकको उल्लेखनीय उपलब्धि सार्वजनिक गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाका अनुसार स्थापना भएको २० वर्षमा अस्पतालले तीन लाखभन्दा बढी बिरामीको उपचार र एक हजार पाँच सय शिशुको सुरक्षित जन्म गराएको छ । सगरमाथा आरोहणकै सम्झनामा स्थापना गरिएको यो सामुदायिक अस्पतालले हिमाली बस्तीका बासिन्दादेखि स्वदेशी र विदेशी पर्यटकसम्मका लागि जीवनरक्षक स्वास्थ्य सेवा प्रदान गर्दै आएको उनले बताए । राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाको सपना साकार पार्ने उद्देश्यले स्विजरल्यान्डकी पहिलो महिला ट्रेकिङ गाइड निकोल निक्कीले करिब २५ वर्षअघि अस्पताल निर्माणको पहल गरेकी थिइन् । पासाङल्हामुका भाइ आङ गेलु शेर्पासँगको सहकार्यबाट स्थापना भएको अस्पताल अहिले २५ शैय्याको क्षमतामा विस्तार भएको छ । अस्पताल २१ किलोवाट हाइड्रो र नौ किलोवाट सौर्य ऊर्जामार्फत सञ्चालन भइरहेको छ ।
अस्पतालले मातृस्वास्थ्य, बालस्वास्थ्य, आकस्मिक उपचार, हड्डी र आँखासम्बन्धी सेवा नियमितरूपमा दिँदै आएको छ । हिमाल आरोहण वा ट्रेकिङका क्रममा घाइते हुने पर्यटकका लागि तत्काल उद्धार र उपचारको व्यवस्था पनि छ । स्विस राजदूत डानिएला भेरोनिक मोलीले अस्पताललाई ‘स्विस–नेपाली मित्रताको प्रतीक’ भन्दै प्रशंसा गरिन् । अस्पतालकी सह–संस्थापक निकोल निक्कीले स्विस दाताहरूको सहयोगमा सञ्चालन भइरहेको ‘बर्थ चिल्ड्रेन एजुकेसन प्रोजेक्ट’मार्फत अस्पतालमा जन्मिएका बालबालिकालाई कक्षा १० सम्म वार्षिक दुई सय २० स्विस फ्राङ्क छात्रवृत्ति दिइँदै आएको जानकारी दिइन् । उनका अनुसार यस वर्ष दुई सय ६१ बालबालिकाले उक्त छात्रवृत्ति प्राप्त गरेका छन् । वार्षिकोत्सव कार्यक्रममा पासाङल्हामु फाउन्डेसनकी अध्यक्ष तथा पूर्वराजदूत दावाफुटी शेर्पा, क्याप्टेन आङ गेलु शेर्पा र स्विसका पूर्वराजदूतसहित स्थानीयको सहभागिता रहेको थियो ।