काठमाडौं । विश्व प्रसिद्ध उत्प्रेरक वक्ता तथा टेलिभिजन कार्यक्रम ‘ब्रह्माकुमारीहरुसँग जागरण’की प्रवक्ता समेत रहेकी ब्रह्माकुमारी सिस्टर शिवानी पहिलोपटक विराटनगर आउने भएकी छिन् । उनले विराटनगरमा नयाँ सुरुवातका लागि सकारात्मक सोच विषयमा विशेष प्रवचन दिने कार्यक्रम समेत रहेको छ ।
मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको सहकार्यमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराटनगरले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । जैन भवन, विराटनगरमा शुक्रबार दिउँसो ४ः३० देखि साँझ ७ बजेसम्म उक्त कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा दुई हजार पाँच सयभन्दा बढी प्रतिष्ठित व्यवसायी, समाजसेवी, धार्मिक एवम् आध्यात्मिक व्यक्तित्व, शिक्षक र विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ । सिस्टर शिवानी भारतको ब्रह्माकुमारी संस्थाअन्तर्गतकी वरिष्ठ राजयोग शिक्षिका तथा अन्तर्राष्ट्रियस्तरकी प्रेरणादायी वक्ता हुन् । सिस्टर शिवानीलाई संयुक्त राष्ट्र संघ र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले धेरै सम्मानहरु प्रदान गरिसकेका छन् ।