काठमाडौं, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगर क्षेत्रभित्रका अतिक्रमित जग्गा तथा मापदण्ड विपरीत निर्माण गरिएका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएका छन् । गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णयअनुसार दुवै संस्थाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण तथा अनधिकृत संरचना खाली गर्न आदेश दिएका हुन् । सो अवधिभित्र अतिक्रमण नहटाए कानूनी कारबाही गरिने चेतावनी समेत दिइएको छ । निर्देशनमा काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाका सार्वजनिक स्थानहरू, खोला किनार र सडक मापदण्डभित्र पर्ने जग्गामा बनेका संरचनाहरू तत्काल हटाउन भनिएको छ । काठमाडौं महानगरपालिकाले पछिल्लो समय खोला किनारमा भएका अतिक्रमण विरुद्ध अभियान सञ्चालन गर्दै आएको छ । केही स्थानमा बसोबास हटाइए पनि बागमती नदी किनारको सुकुम्बासी बस्ती लगायतका संरचना भने अझै कायम छन् । महानगरका अनुसार अतिक्रमणमुक्त अभियान निरन्तर अघि बढाइने र कानूनी प्रावधान अनुसार कुनै पनि सार्वजनिक क्षेत्रमा अनधिकृत संरचना सहन नपाइने स्पष्ट गरिएको छ ।