न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका नर्सहरू शुक्रबार विरोध प्रदर्शनमा उत्रिएका छन्। सरकारी अस्पतालदेखि निजी स्वास्थ्य संस्थासम्मका नर्सहरूले एकसाथ प्रदर्शन गर्दै सरकारले तत्काल माग सम्बोधन गर्नुपर्ने चेतावनी दिएका छन्। नर्सिङ संघले अघि सारेको १५ बुँदे माग कार्यान्वयनको माग गर्दै शुक्रबार बिहान १० देखि १२ बजेसम्म सबै अस्पतालका नर्सहरूले प्रतीकात्मक प्रदर्शन गरेका हुन्। आन्दोलनमा सहभागी सिभिल अस्पतालकी नर्स विमला पौडेलका अनुसार, “न्यायोचित पारिश्रमिक र सेवा–सुविधा बिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छैन,” भन्दै सरकारले स्वास्थ्यकर्मीको सम्मान र अधिकार सुनिश्चित गर्नुपर्ने बताइन्। नर्सहरूको प्रमुख मागमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२ असोज २४ गतेको पत्र कार्यान्वयन, स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह नघट्ने गरी निर्धारण, अतिरिक्त कार्यवापत भत्ता, ज्यालादारी प्रणालीको अन्त्य र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने समावेश छ।