काठमाडौं । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कुल बीमा दाबी करिब २३ अर्ब २३ करोड ३७ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी (पेस्की) समेत गरी करिब दुई अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।
नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ छ सय ७३ वटा दाबीको करिब १९ अर्ब एक करोड ९४ लाख दाबी रकममध्ये करिब दुई अर्ब २७ करोड ११ लाख र मोटर बीमातर्फ दुई हजार दुई सय ७० दाबीको करिब तीन अर्ब ४४ करोड २६ लाख दाबी रकममध्ये करिब ४७ करोड ७७ लाख भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ एक सय ९२ वटा दाबीको करिब ३६ करोड ७९ लाख दाबी रकममध्ये करिब चार करोड ६२ लाख र अन्य बीमातर्फ ४० वटा दाबीको करिब ३८ करोड ७२ लाख दाबी रकममध्ये करिब २२ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको छ । परिवहन बीमातर्फ १२ वटा दाबीको दाबी रकम करिब एक करोड ६६ लाख रुपैयाँ रहेको छ ।
प्रदेशगतरूपमा निर्जीवन बीमा कम्पनीहरूमा परेका कोशी प्रदेशमा तीन सय ९२ वटा दाबीको करिब दुई अर्ब ३२ करोड ४६ लाख दाबी रकम मध्ये करिव ३१ करोड ८४ लाख, मधेश प्रदेशमा तीन सय ६७ वटा दाबीको करिब ७० करोड चार लाख दाबी रकममध्ये करिब चार करोड ७१ लाख र बागमती प्रदेशमा एक हजार सात सय २३ वटा दाबीको करिब १७ अर्ब ६१ करोड ६२ लाख दाबी रकममध्ये करिब दुई अर्ब १५ करोड ५९ लाख भुक्तानी भएको छ ।
यसैगरी, गण्डकी प्रदेशमा परेका दुई सय १६ वटा दाबीको करिब एक अर्ब ६९ करोड २३ लाख दाबी रकममध्ये करिब १५ करोड १८ लाख, लुम्बिनी प्रदेशमा दुई सय ५७ वटा दाबीको करिब ४७ करोड ४४ लाख दाबी रकममध्ये करिब आठ करोड ७८ लाख, कर्णाली प्रदेशमा २८ वटा दाबीको करिब नौ करोड ९९ लाख दाबी रकममध्ये करिब ९० लाख र सुदूरपश्चिम प्रदेशमा परेका दुई सय चारवटा दाबीको करिब ३२ करोड ६० लाख दाबी रकममध्ये करिव दुई करोड ७२ लाख अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल तीन हजार एक सय ८७ वटा बीमा दाबीको दाबी रकम करिव २३ अर्ब २३ करोड ३७ लाख रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।
पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिव एक अर्ब ९९ करोड २२ लाख अग्रिम भुक्तानी
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव एक अर्ब ९९ करोड २२ लाख अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ । नेपाल पुनर्बीमा कम्पनीमा परेका कूल दुई हजार आठ सय ६८ वटा पुनर्बीमा दाबीको करिव १६ अर्ब पाँच करोड १३ लाख पुनर्बीमा दाबी रकम रहेको छ ।