नेकपा (माओवादी केन्द्र) ले विघटित केन्द्रीय समितिको बैठक पुनः बोलाउने तयारी गरेको छ। नेताहरूका अनुसार नेकपा (एकीकृत समाजवादी) सहितका दलहरूसँग एकताको निर्णय अनुमोदन गर्ने उद्देश्यले सो बैठक बोलाउन लागिएको हो। एक नेताका अनुसार, “यही मंसिर १७ गते केन्द्रीय समितिको बैठक राख्ने तयारी गरिएको छ,” उनले भने, “बैठकको मुख्य एजेन्डा भनेको एकीकृत समाजवादीसहितका दलहरूसँगको एकता निर्णय अनुमोदन गर्नु नै हुनेछ।” माओवादी केन्द्रको केन्द्रीय समितिको पछिल्लो बैठक गत असोज १० गते बसेको थियो। उक्त बैठकले आगामी मंसिर अन्त्यमा विशेष महाधिवेशन गर्ने निर्णय गर्दै केन्द्रीय समिति विघटन गरेको थियो। तर नेताहरूका भनाइमा, विशेष महाधिवेशनअघि नै अन्य वामपन्थी दलहरूसँग एकता प्रक्रियामा ठोस प्रगति भएकाले सो निर्णय अनुमोदन गर्न बैठक बोलाउने तयारी गरिएको हो।