काठमाडौं । पूर्वअर्थमन्त्रीहरुको फोरमले विचलित नभई आर्थिकलगायतका नियमित क्रियाकलापहरू सञ्चालन गर्न व्यवसायीलाई आह्वान गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनाल उपस्थित रहेको शुक्रबार बसेको फोरमको बैठकले भदौ २४ गते जेन–जीको भावनाविपरीत आपराधिक मानसिकता भएका अराजक समूहबाट गरिएका घटनामा तोडफोड, लुटपाट एवम् आगजनीबाट आमनागरिक र व्यवसायी जगतमा ठूलो आर्थिक र मनोवैज्ञानिक क्षतिबाट परेको प्रभावबाट विचलित नभई आर्थिकलगायतका नियमित क्रियाकलाप सञ्चालन गर्न आह्वान गरेको फोरमका सदस्यसचिव विमल केडियाले जानकारी दिए ।
‘यस घटनाबाट आमनागरिक, व्यावसायिक जगतको मनोबल तथा आर्थिक क्रियाकलाप कमजोर हुन नदिन सरकारले सुरक्षा, राहत तथा सहुलियतजस्ता प्रयासलाई थप अघि बढाउन आह्वान गर्दछौँ’, उनले भने । बैठकले कर विवरण बुझाउने अवधि एवम् ऋण तथा ब्याज भुक्तानीको अवधिलाई अतिरिक्त १५ दिन थप गर्न पनि सरकारलाई अनुरोध गरेको छ । त्यसैगरी, भदौ २४ गतेको घटनामा सार्वजनिक, व्यावसायिक तथा व्यक्तिगत सम्पत्तिमा तोडफोड, लुटपाट एवं आगजनीजस्ता आपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाहीमा तीव्रता ल्याउन समेत सरकारलाई अनुरोध गरेको छ ।
बैठकमा अर्थमन्त्री खनालसहित पूर्वअर्थमन्त्रीहरू प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, वर्षमान पुन, प्रकाशशरण महत, गर्भनर विश्व पौडेल, अर्थसचिव घनश्याम उपाध्यायको सहभागिता रहेको थियो ।