काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा संघ सरकारको सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले बदमासी गर्दा चोक र गल्लीहरुमा फोहोर थुप्रिन सुरु भएको छ ।
काठमाडौं महानगरको प्रमुखमा निर्वाचित हुनासाथ प्रमुख बालेन्द्र साह (बालेन)ले २०७९ साल जेठ २६ गते नुवाकोट र धादिङका स्थानीय जनप्रतिनिधिसँग १८ बुँदे सम्झौतामा हस्ताक्षर गरेर फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि हस्ताक्षर गरिएका अधिकांश बुँदा कार्यान्वयन नगर्दा स्थानीयले फोहोर बोकेर गएका गाडीहरुबाट फोहोर फाल्न दिएका छैनन् ।
काठमाडौंका स्थानीयलाई घरभित्रै फोहोर राख्न आग्रह गरेका महानगरका प्रमुख साह फोहोर व्यवस्थापनका लागि पहल गर्नुपर्नेमा अहिले कतै पनि सार्वजनिक भएका छैनन् । स्थानीयसँग वार्ता गरेर समस्याको समाधान गर्नुपर्नेमा साह अहिले लुकेका छन् । ओखरपौवाका स्थानीय बासिन्दाले मात्र होइन जनप्रतिनिधिहरुले काठमाडौंमा आएर खोजे पनि उनी भेट्न मानिरहेका छैनन् ।
त्यतिबेला स्थानीयसँग भएको १८ बुँदे सहमतिपत्रको पहिलो नम्बरमै काठमाडौंका प्रमुख साहले हस्ताक्षर गरेका थिए । तर, उनले हस्ताक्षर गरेको सम्झौताको १ नम्बर बुँदा नै अहिलेसम्म कार्यान्वयनमा आएको छैन । २०७९ साल जेठ २६ गते गरिएको सम्झौताको १ नम्बर बुँदामा ‘काठमाडौं महानगरपालिकाबाट बञ्चरेडाँडा कुँडुलेसम्म फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनरुपमा रातिको समयमा गर्ने । रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोका निर्माण तथा व्यवस्था महानगरपालिकाले तीन महिनाभित्र गर्ने’ भन्ने थियो । तर, सम्झौता भएको तीन वर्ष पाँच महिना पुग्न लाग्दा पनि उक्त पहिलो बुँदा नै कार्यान्वयनमा आएको छैन ।
स्थानीय बासिन्दाको स्वास्थ्यसँग सम्बन्धित बुँदाहरु कार्यान्वयन नभएपछि बिहीबारदेखि काठमाडौंबाट फोहोर उठेको छैन । स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि शुक्रबार अबेर सहरी विकास मन्त्रालयमा बैठक बसे पनि समस्या समाधान हुन सकेन । शनिबार पनि उक्त समस्या समाधानको लागि गरिएका पहलहरु त्यतिकै खेर गएको छ ।
नुवाकोट र धादिङका फोहोरमैला पीडित स्थानीयले काठमाडौं महानगरका प्रमुख साहसँग बञ्चरेडाँडामै वार्ताको माग गरेका छन् । तर, वार्ताका लागि सिंहदरबारसम्म आइपुगेका स्थानीय नेताहरुले समेत प्रमुख साहलाई सिंहदरबारमा पनि फेला पार्न सकेनन् । यसले महानगरका प्रमुख साह फोहोर व्यवस्थापनमा विगतको आफ्नो प्रतिबद्धता पूरा गर्न असफल भएको देखिएको छ ।
नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका जनप्रतिनिसँग काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयले गरेका सम्झौताका अधिकांश बुँदाहरु कार्यान्वयनमा आउनै सकेका छैनन् । फोहोर फाल्ने काम नुवाकोटको ककनी गाउँपालिकाको बञ्चरेडाँडामा हुँदै आएको छ । सोही कारण त्यसको प्रत्यक्ष प्रभाव ककनी गाउँपालिकाको १ र २ नम्बर वडाका साथै धादिङको धुनिबेसी नगरपालिकाको १ र ३ नम्बर वडामा समेत परेको छ । पछि नुवाकोटकै बेलकोटगढी नगरपालिकाको केही वडामा पनि प्रभाव पर्ने देखिन्छ । किनकि फोहोरबाट निस्केर बग्ने लिच्चड खोलाको पानीमा मिसिँदा त्यसले तल्लो भागमा पनि असर पार्ने देखिन्छ ।
स्थानीयले फोहोर र मानव बस्ती एकै ठाउँमा हुँदा निको हुनै नसक्ने गम्भीर प्रकृतिको रोगहरु फैलिन थालेको भन्दै आफूहरुलाई मुआब्जा दिएर हटाउनुपर्ने वा फोहोर नै ल्याउन नहुने अडान लिएका छन् । काठमाडौं महानगर र सहरी विकास मन्त्रालयले स्थानीयसँग छुट्टाछुट्टै सम्झौता गरेर स्वास्थ्य समस्या समाधान गर्न ठोस काम गर्ने जनाए पनि कुनै पनि काम गरेको छैन । यसले गाउँहरु क्यान्सर, छालाको रोग, श्वासप्रश्वाससम्बन्धी रोग फैलिन थालेको छ । ‘गाउँ नै रोगी भइसक्यो’, स्थानीय दिनेश श्रेष्ठ (बलामी)ले भने ।
सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले विगतमा गरेका प्रतिबद्धता पूरा गरेको भए अहिले फोहोर व्यवस्थापनमा कुनै समस्या आउने थिएन । यी दुई निकायको बदमासीको कारण काठमाडौंका बासिन्दाले मात्र होइन नुवाकोट र धादिङका बासिन्दाले पनि दुःख पाएका छन् । काठमाडौं महानगर र सहरी विकास मन्त्रालयले अमानवीय व्यवहार दोहोर्याउँदा उक्त स्थानमा फोहोर फाल्न नदिन स्थानीयले पटकपटक आन्दोलन गर्दै आएका छन् । महानगरका प्रमुख बालेनले काठमाडौंको फोहोर आन्तरिकरुपमा व्यवस्थापन गर्ने र बिजुली निकाल्ने बताए पनि ती सबै कुरा हावादारी भएका छन् । आफूले बोलेका कुराहरु पूरा गर्न नसकेपछि प्रमुख साह लुकेर राजनीतिक दलहरुले स्थानीयलाई उचालेको आरोप लगाउन थालेका छन् ।
उपत्यकाको फोहोर व्यवस्थापनको नेतृत्व गर्दै आएको काठमाडौं महानगरले सहरी विकास मन्त्रालयले सम्झौता कार्यान्वयन नगरेको जिकिर गरे पनि उसले आफैंले गरेका सम्झौता पनि कार्यान्वयन नगरेको देखिएपछि काठमाडौंका मेयर साह अहिले भूमिगतजस्तै भएका हुन् । घरभित्र फोहोर राख्न काठमाडौं महानगरले भने पनि स्थानीयले सडक, चोक तथा गल्लीहरुमा फोहोर थुपार्न थालेका छन् । यसले सहरमा थप प्रदूषण बढ्ने देखिन्छ । अहिले नुवाकोटको बन्चरेडाँडामा ५० बढी फोहोर बोकेको गाडी लाइन लागेका छन् ।