काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगहरूको लाइन काटिदिएर हजारौँ श्रमिकहरुको बिचल्ली बनाएको आरोप लगाएको छ ।
जेटीयूसीसीका अध्यक्ष जगत बहादुर सिम्खडा र महासचिव इन्द्रदेव मिश्रले संयुक्त विज्ञप्ति जारी गरी प्राधिकरण र ठूला उद्योगका सञ्चालकबीच वर्षौँदेखिको पुरानो विवादका कारण श्रमिकहरु समस्यामा परेका बताएका छन् । लोडसेडिङ अवधिमा प्रयोग गरिएको डेडिकेटेड फिडर ट्रंकलाइनबापतको बक्यौता महसुल विवादका कारण केही ठूला उद्योगहरूको बिजुली काटिएपछि उत्पादन बन्द भएको छ ।
उद्योगहरुको उत्पादन बन्द भएपछि हजारौँ श्रमिक बेरोजगार भएको जेटीयूसीसीले जनाएको छ । वर्षौँदेखिको पुरानो विवाद समाधानको सट्टा पटक–पटक उद्योगहरूको लाइन काटेर श्रमिकलाई बिचल्लीमा पारिएको भन्दै जेटीयूसीसीले आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उद्योग बन्द गरी श्रमिकको रोजगारी संकटमा पार्ने र देशको अर्थतन्त्रलाई धराशायी बनाउने कुनै पनि बहाना जेटीयूसीसीलाई स्वीकार्य छैन ।’
जेटीयूसीसीले विद्युत् प्राधिकरणलाई नियमानुसार उचित रकम असुल गर्न र उद्योगीहरूलाई नियमअनुसारको बक्यौता महसुल तत्काल तिर्ई उद्योग पुनः सञ्चालनमा ल्याउन आग्रह गरेको छ । साथै, सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उद्योग मन्त्रालयलाई श्रमिकहरूको रोजगारी र पारिश्रमिकको ग्यारेन्टी सुनिश्चित गराउन तुरुन्त पहल गर्न माग गरेको छ । श्रमिकहरु औद्योगिक उत्पादन, निर्यात र समग्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै उनीहरूको अधिकार, जीविका र सम्मान सुरक्षित राख्नु सबै पक्षको साझा जिम्मेवारी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जेटीयूसीसीले उद्योग सञ्चालनमा अनावश्यक ढिलाइ गरी श्रमिकहरूलाई मारमा पारिएमा कडा आन्दोलनका कार्यक्रम अघि सार्न बाध्य हुने चेतावनी दिएको छ ।