धनगढी । नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो घनाबस्तीको बीचमा रहेकाले स्थानीयवासीले तत्काल स्थानान्तरणको माग गरेका छन् ।
धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित डिपोलाई दुई वर्षअघि स्थानान्तरण प्रक्रिया अघि बढाइएको भनिए पनि हालसम्म नतिजा देखिएको छैन । स्थानीयले टोल विकास संस्थाको अगुवाइमा डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन आन्दोलनको तयारी थालेका छन् । केही दिनअघि उनीहरुले वडाध्यक्षको पहलमा स्थानीयको सरोकार सम्बोधन गर्न डिपो प्रमुखको ध्यानाकर्षण समेत गराएका थिए । शुभकामना टोल विकास संस्थाका अध्यक्ष दीर्घराज ओझाका अनुसार डिपोका कारण बस्तीमा उच्च सुरक्षा जोखिम सिर्जना भएको छ ।
शुभकामना टोलमा ८७ वटा घरधुरी छन् । ती घरमा चार सयभन्दा बढी तीन सय ५० भन्दा बढी मानिसको बसोबास रहेको छ । ‘दुई वर्षअघिदेखि डिपो स्थानान्तरणको प्रक्रिया अघि बढेको भनिएको छ, तर अहिलेसम्म परिणाम आएको छैन’, अध्यक्ष ओझाले भने, ‘तत्काल डिपो स्थानान्तरण गरेर स्थानीयलाई ढुक्कसँग बसोबास र पेसा व्यवसाय गर्न सक्ने अवस्था बनाउन आन्दोलनका कार्यक्रम अघि बढाउँदै छौँ ।’ घरै अगाडि तेल ट्याङ्क भएको कारण सधैं त्रासमा बस्नुपर्ने उनले बताए । स्थानीयले वडाध्यक्ष र डिपो प्रमुखको ध्यानाकर्षण गराए पनि निगमले ठोस कदम नचालेको उनीहरूको आरोप छ ।
चटकपुरका बासिन्दा धर्मसिंह ऐरले राति निदाउन समेत डर लाग्ने अवस्था रहेको बताउँदै डिपो तत्काल सार्न आग्रह गरे । डिपोका कारण सधैँ त्रसित अवस्थामा रहनुपरेको उनको गुनासो छ । पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्याङ्कनजिकै भएको र डिपोबाट इन्धन लोडअनलोड भइरहँदा घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । केही वर्षपहिले जङ्गल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ । धनगढी–अत्तरिया सडक खण्डमा रहेको डिपो अगाडिबाट दैनिक हजारौँ सवारीसाधन गुड्छन् । नजिकै धनगढी नेत्रालय, सीपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक भवन छन् ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले समेत डिपो घना बस्तीबीच भएकाले बारम्बार सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमलाई आग्रह गरिएको बताए । डिपोकै नजिक धनगढी प्रज्ञा सदन विद्यालय रहेको र त्यहाँ चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्राचार्य तीर्थराज फुलाराका अनुसार डिपोका कारण विद्यार्थी र शिक्षक सधैं त्रासमा छन् ।
जग्गा खोजी गर्दैछौँ, पहिचान हुनेबित्तिकै स्थानान्तरण गर्छौंः कार्यकारी निर्देशक
स्थानीय र सरोकारवालाको दबाबपछि निगमले यसअघि नै धनगढीको डिपो स्थानान्तरण गर्ने योजना बनाएको थियो । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका–३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव अघि बढाए पनि जग्गा खरिदमा भने अन्योल देखिएको थियो ।
त्यसपछि निगमले भण्डारण क्षमता अभिवृद्धि परियोजनाका प्रमुख प्रदीपकुमार यादवको संजोजकत्वमा जग्गा पहिचानको काम अघि बढाएको थियो । समितिले कैलालीको अत्तरिया चोकबाट छ किलोमिटर पूर्वतर्फ पूर्वपश्चिम राजमार्गको उत्तरतर्फको करिब २० बिघा जग्गा डिपो स्थानान्तरणका उपयुक्त रहेको भन्दै प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो । निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट जग्गा पहिचानको काम भइरहेको र उपयुक्त जग्गा भेट्टिनेबित्तिकै स्थानान्तरणको प्रक्रिया अघि बढ्ने बताए । ‘उपयुक्त जग्गा नै प्राप्ति हुन सकेको छैन, चार÷पाँच स्थानमा जग्गा खोजी भइरहेको छ । पारदर्शी र मितव्ययी ढङ्गले डिपोे स्थानान्तरणको जग्गा खोजी भइरहेको छ’, उनले भने ।
धनगढीस्थित डिपोको लोडिङ क्षमता कम हुँदा टयाङ्करमा तेल भर्न समस्या परिरहेको नेपाल पेट्रोलियम डिलर्स एसोसियसन, सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष जियालाल आचार्यले बताए । भण्डारण क्षमता बढाउनुका साथै अहिलेको डिपोलाई स्थानान्तरण गरेर सुविधा सम्पन्न बनाउनेतर्फ निगमको ध्यान जानुपर्ने उनको भनाइ छ । हाल धनगढीस्थित डिपो थोरै जग्गामा बनेको हुँदा अन्य संरचना निर्माण गर्न सम्भव नरहेको तथा दैनिक कार्य सञ्चालनसमेत विभिन्न कठिनाइ भोग्नुपरेको निगमको सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरिदत्त जोशीले बताए । अहिले डिपो रहेको जग्गा साँघुरो भएकाले भण्डारण क्षमता वृद्धि गर्न तथा ट्याङ्करमा लोडअनलोड गर्न पनि समस्या भइरहेको छ । सरकारले हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने योजना बनाएको छ । सोहीअनुसार सबै प्रदेशमा भण्डारण क्षमता अभिवृद्धिका काम अघि बढेका छन् ।
अहिलेको भण्डारण क्षमताले सुदूरपश्चिम प्रदेशको एक साताको माग पनि धान्न नसक्ने बताइएको छ । एक बिघा आठ कठ्ठामा फैलिएको उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुई वटा भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि सात सय ६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन् । धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ ।