काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी र लगानीकर्ताको सुरक्षाबारे शंका नगर्न आग्रह गरेका छन् ।
लगानी बोर्ड र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा शुक्रबार अर्थ मन्त्रालयमा भएको सार्वजनिक–निजी क्षेत्र संवादमा उनले सरकारले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको र केही सुधारका परिणाम निजी क्षेत्रले अनुभव गर्न थालेको बताए । यस्तै, गृहमन्त्री ओम प्रकाश अर्यालले निजी क्षेत्रले राखेको सुरक्षा प्रत्याभूतीको विषयलाई गृह मन्त्रालयले गम्भीररुपमा लिएको बताए । उनले मुलुकमा सुशासन कायम गर्न अपरिहार्य रहेको बताउँदै सुशासनका सम्बन्धमा सरकारसँगै निजी क्षेत्रमा पनि सुधार आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री अनिल कुमार सिन्हाले रोकिएका काम सम्पन्न गर्न तीव्र गतिमा काम गरिरहेको बताए । कानुन नै सुधार गर्नुपर्नेबाहेकका प्रक्रियागत सुधारलाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य रकम रहेको हुँदा लगानीका लागि राम्रो अवसर रहेको बताए । उनले लगानीका लागि आग्रह गर्दै विशेषगरी पूर्वाधार क्षेत्रमा लगानी गर्न सुझाव दिए । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक सेवाहरूलाई ‘फेसलेस’, ‘पेपरलेस’ र ‘कन्ट्याक्टलेस’ बनाउन डिजिटल रूपान्तरण अपरिहार्य रहेको बताए । उनले निजी क्षेत्र संकटलाई अवसरमा बदल्न तयार रहेको बताए । यसका लागी सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लगानीकर्ताका लागि ‘एकलविन्दु सेवा प्रणाली’ लागू गर्न लागेको जानकारी दिँदै लगानी स्वीकृति प्रक्रिया सहज र द्रूत बनाउन बोर्ड सक्रिय रहेको बताए । उनले हालको आन्दोलनले लगानीकर्ताको मनोबलमा पारेको असरप्रति सचेत रहँदै निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।