काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपक कुमार धुत नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज २८ मा बसेको ४२औँ बैठकले धुतलाई डीसीईओ पदमा नियुक्त गरेको हो ।
निवर्तमान नायब प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ उमेर हदका कारण कम्पनीको सेवाबाट निवृत्त भएपछि कम्पनीले नायब महाप्रबन्धकको रुपमा कार्यरत दीपक कुमार धुतलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो । उनी निर्जीवन बीमा क्षेत्रका एक कुशल व्यवसाय रणनीतिकार तथा निर्जीवन बीमाको प्राविधिक विषयमा विशेष दख्खल रहेको व्यक्ति हुन् ।
३० वर्षदेखि नेपालको निर्जीवन बीमा क्षेत्रमा कार्यरत धुत, इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डियाको फेलो मेम्बर रहेका छन् । इन्धिरा गान्धी नेसनल ओपन युनिभर्सिटीबाट बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै, उनले यूएनडीपीबाट इन्क्युलिसिभ इन्स्योरेन्ससम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षकको उपाधि समेत प्राप्त गरेका छन् ।