काठमाडौं । मुक्तिनाथ विकास बैंकले शनिबार पोखरामा आफ्नो १९औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले आ.व. २०८०÷८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १८ दशमलव २० प्रतिशत लाभांश दिने प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त लाभांशमध्ये १३ दशमलव ५३ प्रतिशत बोनस सेयर र बाँकी चार दशमलव ६७ प्रतिशत लागि नगद लाभांश (बोनस सेयर र नगद लाभांशको करसहित) रहेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष प्रस्तावहरुको रुपमा यस विकास बैंककोे चुक्ता पुँजी नौ अर्ब तीन लाख ८८ हजार सात सय ६७ रुपैयाँ एघार पैसा पुर्याउने, सोहीबमोजिम प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र पुँजी वृद्धिपश्चात नेपाल राष्ट्र बैंकले तोकेको प्रावधानअनुसार यस विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतिको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावहरु समेत स्वीकृत गरेको छ । यसै सभाबाट आ.व. २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।
साथै, साधारणसभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए । उक्त सभामा बैंकका सञ्चालक समितिका सदस्य भरत प्रसाद लम्सालले स्वागत मन्तव्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट आएका जिज्ञासाका बारेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले थप प्रष्ट पारेका थिए ।