काठमाडौं । ई–कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (डेक्स)मार्फत नयाँ सुविधा ‘लास्ट–माइल डेलिभरी सोलुसन’ औपचारिकरूपमा सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको यस नयाँ सेवा, दराजको प्लेटफर्ममा नहुँदा पनि आफ्ना उत्पादनहरू बिक्री गर्ने ब्रान्ड र विक्रेताहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानका रूपमा प्रस्तुत गरिएको हो । यसका माध्यमबाट दराज एक्सप्रेसले नेपालभरका व्यवसायहरूका लागि चुस्त, सुरक्षित र विश्वासिलो वितरण सञ्जाल प्रदान गर्दै उनीहरुलाई आफ्ना उत्पादनमा केन्द्रित रहँदै व्यवसाय विस्तार गर्न अझ सशक्त बनाउने उद्देश्य लिएको छ । बजारमा विद्यमान सेवा प्रदायकहरूले प्रदान गर्न नसकेको गति, सन्तुष्टि र पारदर्शिताको आवश्यकता पूरा गर्ने सोचका साथ दराज एक्सप्रेसले यो समाधान उपलब्ध गराएको हो ।
कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित रुट–प्लानिङ प्रणाली र रियल–टाइम पार्सल ट्रयाकिङ प्रविधिको प्रयोगबाट डेक्सले स्थानीय अर्डरहरू २४ घण्टाभित्र, र अन्तर–सहर डेलिभरीहरू ४८ घण्टाभित्र सम्पन्न गर्ने क्षमता बोकेको छ । यसले औसत डेलिभरी समय १.५ दिनभन्दा कममा झार्न उल्लेख्य सहयोग पुर्याएको छ । साथै, ९० प्रतिशतभन्दा बढी सफल नतिजासहित डेक्सले सबै मूल्यका पार्सलहरूको वितरण सुनिश्चित गर्ने एकीकृत समाधान प्रदान गरिरहेको छ । यी सबै सुधारहरूले सञ्चालन दक्षता बढाउने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएका छन् ।
हालसम्म डेक्सले नेपालका एक सय आठ प्रमुख सहरहरूमा सेवा विस्तार गरिसकेको छ । त्यसैगरी, आगामी ११ दशमलव ११ अभियानअघि थप ७० सहरहरूमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । यसले दराज एक्सप्रेसको देशव्यापी पहुँच र ‘सबैका लागि छिटो र भरपर्दो ई–कमर्स सेवा’को प्रतिबद्धता झल्काउँछ । डेक्सले विक्रेताहरूका लागि सुगम नगद प्रवाह (क्यास फ्लो) र पारदर्शी वित्तीय व्यवस्थापनमा पनि विशेष ध्यान दिएको छ । यसअन्तर्गत, विक्रेताहरूलाई हप्तामा धेरैपटक क्यास–अन–डेलिभरी रकम सेटलमेन्टको सुविधा मिल्नेछ । यसले उहाँहरूलाई तत्काल पुनः लगानी गर्ने सहज वातावरणको सुनिश्चितता प्रदान गर्ने कम्पनीले विश्वास लिइएको छ । साथै, असफल डेलिभरीमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेर डेक्सले व्यवसायीहरुको जोखिम घटाउँदै बढी आम्दानी गर्न सहयोग पुर्याउने लक्ष्य लिएको छ ।
डेक्सले नेपालका ब्रान्ड र विक्रेताहरूलाई विस्तारित बजार पहुँच, सजिलो व्यवसाय सञ्चालन र मजबुत क्षेत्रीय ई–कमर्स इकोसिस्टम निर्माण गर्न सहयोग पुर्याउने लक्ष्य लिएको छ । व्यवसाय गर्न सजिलो बनाउने यी पहलहरूले दराजको ‘वाणिज्य शक्तिमार्फत समुदाय उत्थान’ गर्ने उद्देश्यलाई अझ सबल बनाएको छ ।