काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरुमा विद्युत् कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित सार्वजनिक निजी संवाद कार्यक्रममा अध्यक्ष ढकालले उद्योगहरुको विद्युत् लाइन काटिँदा देशभरका दजनौँ उद्योगहरू बन्द हुन पुगेको र यसबाट हजारौँ रोजगारी संकटमा परेको भन्दै वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका हुन् । लाइन काटिँदा राष्ट्रले नै ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको, औद्योगिक उत्पादन, निर्यात र मुलुकको समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पारेको उनले बताए । विवाद समाधानका लागि संवाद र सहकार्यको वातावरण सिर्जना गर्न उनले सरकारसँग आग्रह गरे । यस्तै, अध्यक्ष ढकालले अर्थतन्त्र पुनरुत्थानका लागि उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्नु आजको आवश्यक्ता भएको बताए । जेन–जी आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी उद्योग प्रतिष्ठानमाथि भएको आक्रमणले औद्योगिक सुरक्षाको अभाव देखिएको, लगानीकर्तामा भय पैदा गरेको र लगानीकर्ताले आत्मविश्वास कमजोर भएको उनको भनाइ थियो ।
अध्यक्ष ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्न नसकिए देशमा लगानी आउने नभई भएको पुँजी समेत पलायन हुने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे । ‘आन्तरिक र बाह्य लगानीको लागि उद्योगी–व्यवसायीले सुरक्षित महसुस गर्ने वातावरण आवश्यक छ ।
देशमा रोजगारी सिर्जना गर्ने, राज्यलाई कर तिर्ने निजी क्षेत्र हरेक आन्दोलनका समयमा आक्रमणको शिकार हुनु दुखःद् हो । निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक छ । र यसको लागि सरकारले उचित पहल गर्नुपर्दछ’, उनले भने । सरकारले औद्योगिक सुरक्षा तथा क्षतिग्रस्त उद्योगहरूको पुनः निर्माणलगायतका विषय गरेका निर्णयहरु सह्रानीय रहे पनि नीति कार्यान्वयन ढिलो हुने प्रवृत्तिमा सुधार गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए ।