अछाम । अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित हाटबजारमा शनिबार राति आगलागी हुँदा ७ वटा पसल पूर्णरुपमा जलेको छ । करिब पौने ९ बजेतिर आगो सुरु भएको स्थानीयहरुले बताएका छन् । उनका अनुसार गत वैशाख १३ गते पनि यसै स्थान नजिकै आगलागी भएर ठुलो क्षति भएको थियो । छ महिनामै दोस्रो पटक लागेको आगलागीले बजारका व्यापारीहरु पुनः शोकमा डुबेका छन् ।
सुरक्षा निकाय र स्थानीय बासिन्दाले निर्माण व्यवसायी गौतम कुँवरको जेसिबी र ईन्दसरा आयल स्टोरको पानी ट्याङ्करको सहायतामा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएका थिए ।
बलबहादुर कुँवरको होटेल, सुमन कुँवरको डोका डाला पसल, अशोक कुँवरको जुत्ता पसल, महेन्द्र कार्कीको किराना पसल, कर्ण कुँवरको अग्रोभेट सेन्टर, वैद्यनाथ फेन्सी स्टोर र नरबहादुर गिरीको सिलाइ–कटाइ पसल आगलागीबाट जलेर नष्ट भएका छन् । जिल्ला प्रशासन कार्यालय अछामले प्रारम्भिक अनुसन्धान अनुसार, विद्युत् सर्ट भएका कारण आगलागी भएको जानकारी दिएको छ ।