काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको दुई अर्ब ६० करोड रुपैयाँ संस्थागत निक्षेपको रुपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागिएको हो ।
रकम लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले यही कात्तिक १८ गतेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रुपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । यसरी राखिने रकमको अवधि तीन सय ६६ दिन अर्थात् अवधि नोभेम्वर ९, २०२५ देखि नोभेम्बर ९, २०२६ सम्म रहेको छ ।
लगानीको लागि छुट्याइएको कुल रकममध्येमा वाणिज्य बैंकहरुको लागि दुई अर्ब आठ करोड, विकास बैंकहरुको लागि ३९ करोड र फाइनान्स कम्पनीहरुको लागि १३ करोड रुपैयाँ छुट्याइएको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम कुल पुँजीकोष (बफरसहित) कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको आठ प्रतिशतभन्दा कम भएको, खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।
कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा–व्यवस्थापछिकोमा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवम् रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।
अधिक तरलता नियन्त्रणको लागि राष्ट्र बैंकले तान्यो ४० अर्ब
काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता नियन्त्रणका लागि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिचेको छ । आइतबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिचिएको राष्ट्र बैंकको भनाइ छ ।
परिपक्व हुुने अवधि एक सय ७५ दिन तोकिएको यो उपकरणको सावाँ ब्याज भुक्तानी २०८३ बैशाख १३ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा यो उपकरण बिक्री गरिएको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोको रुपमा समेत राख्ने सकिने व्यवस्था रहेको राष्ट्र बैंकको भनाइ छ ।