काठमाडौं । अन्तर्राष्ट्रिय आतिथ्य समूह आइएचजी होटल्स एण्ड रिसोर्टस् र लुम्बिनी हेरिटेज लिमिटेडबीच भारतको राजधानीमा नयाँ दिल्लीमा एक विशेष समारोहमा सहकार्य सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा लुम्बिनी हेरिटेज लिमिटेडका अध्यक्ष सुभाष अमात्य र आइएचजी होटल्स एण्ड रिसोर्टस्का दक्षिण पश्चिम एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन् । यस सम्झौतासँगै आइएचजीले पहिलो पटक काठमाडौँ बाहिर सेवा विस्तार गर्दै लुम्बिनीमा आफ्नो प्रिमियम ब्रान्ड क्राउन प्लाजा सञ्चालन गर्नेछ । हाल लुम्बिनीमा सञ्चालनमा रहेको लुम्बिनी हेरिटेज होटललाई पुनःब्रान्डिङ गरी ‘क्राउन प्लाजा लुम्बिनी’ नाम दिइने छ ।
यसअघि ‘पवन प्यालेस लुम्बिनी’का नाममा सञ्चालनमा रहेको यो होटललाई अधिग्रहणपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुनःरूपान्तरण गरिएको हो । होटलमा कुल एक सय वटा ४७ कोठा, जसमा सात वटा स्वीट रुमसहित, आधुनिक बहुउद्देश्यीय हल, रेष्टुराँ, फिटनेस सेन्टर, स्वीमिङ पूल र अन्य प्रिमियम सुविधा रहनेछन् । साथै, आगामी आठ महिनाभित्र क्यासिनो सेवा सुरु गर्ने योजना समेत कम्पनीले जनाएको छ ।
लुम्बिनी हेरिटेज लिमिटेडको होटल भगवान गौतम बुद्धको जन्मस्थलबाट करिब १.९ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट करिब ९ किलोमिटर दूरीमा अवस्थित छ । कम्पनीले सन् २०२६ भित्र सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने योजना पनि अघि सारेको छ । लुम्बिनी हेरिटेज लिमिटेडका अध्यक्ष सुभाष अमात्यले भने, “आइएचजीसँगको सहकार्यले लुम्बिनीको आतिथ्य सेवा नयाँ स्तरमा पुग्नेछ र यस क्षेत्रको पर्यटन सम्भावनामा थप ऊर्जा भर्नेछ ।” त्यसैगरी, आइएचजीका प्रबन्ध निर्देशक सुदीप जैनले भने, “क्राउन प्लाजा लुम्बिनीसँगै नेपालमा हाम्रो उपस्थितिलाई पुनः सुदृढ गर्न पाउँदा हामी खुशी छौं ।