काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको आगजनीबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ।
आयोगको टोलीले सोमबार नख्खु कारागार पुगेर थुनामा रहेका पूर्वगृहमन्त्री लामिछानेसँग विस्तृत कुराकानी गरेको हो। आयोगले कारागारको निरीक्षण गर्दै अन्य कैदीबन्दीहरूसँग पनि सोधपुछ गरेको बताइएको छ।
जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूको भीड नख्खु कारागार पुगेपछि लामिछाने कारागारबाट बाहिर निस्किएका थिए। उनी निस्किएपछि अन्य कैदीबन्दीहरू पनि बाहिर निस्किएको आरोप लागेको थियो।
तर लामिछाने र उनकी पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले नख्खु कारागारका जेलर सत्यराज जोशीको पत्रका आधारमा उनी थुनामुक्त भएको दाबी गरेका छन्। आयोगले गत आइतबार जोशीसँग सोधपुछ गरेको थियो, र त्यसको भोलिपल्ट लामिछानेसँग प्रत्यक्ष सोधपुछ गरेको हो।
लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया प्रालिमा स्थानान्तरण गरी ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ। उनी केही महिनाअघि भैरहवा कारागारबाट नख्खुमा सारिएका थिए।
आयोगस्रोतका अनुसार सोधपुछका क्रममा लामिछानेले कारागारबाट निस्कनुपर्दाको परिस्थिति, जेलरको पत्र, र आन्दोलनका बेला कारागारमा उत्पन्न अवस्थाबारे जानकारी दिएका थिए। आयोगले नख्खु कारागारमा रहेका अन्य कैदीबन्दी, नाइके र भाइनाइकेहरूसँग पनि विस्तृत कुराकानी गरेको छ।
गतसाता उपत्यका बाहिरका घटनाको जानकारी संकलन गरेर फर्किएको आयोगले आइतबारदेखि काठमाडौंका घटनामा केन्द्रित अनुसन्धान सुरु गरेको हो। आइतबार नै आयोगले प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो, जसका आधारमा भदौ २३ र २४ गते जिम्मेवारीमा रहेका प्रहरी इञ्चार्जहरूलाई उपत्यका नछाड्न सर्कुलर जारी गरिएको थियो।