काठमाडौं । सरकारले २०८२ भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको छ।सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार नेपालको राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणका मागसहित जेन–जी पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा मृत्यु भएका ती व्यक्तिहरूलाई सहिदको सम्मान दिने निर्णय गरिएको हो। बैठकले साथै वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोकेको छ।त्यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सञ्चालन नियमावली–२०८२ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ। यसबाहेक, विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित तहहरूलाई सहयोग गर्न पाँच करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रवक्ता खरेलले जानकारी दिए।