काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन आदेशको माग गर्दै हितेन्द्र देव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध सोमबार शाक्यले सर्वोच्चमा दिएको रिट निवेदनको पेसी मंगलबारलाई तोकिएको छ ।
२०८१ चैत ११ गते शाक्य दोस्रोपटक विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि २०७७ सालमा पनि उनी प्राधिकरणको कार्यकारी निर्देशक थिए ।
पछिल्लो समय जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको ऊर्जामन्त्रीमा कुलमान घिसिङ नियुक्त भएपछि हितेन्द्रलाई सरकारले ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गरेको थियो ।
सरकारले असोज ५ गते शाक्यलाई हटाएर प्राधिकरणकै उपकार्यकारी निर्देशक मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाएको थियो । रिटमा आफ्नो कार्यकाल बाँकी रहँदै हटाइएकोले सरकारको निर्णय बदरभागी हुने दाबी गरेका छन् ।