काठमाडौंं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम ७४ खर्ब रुपैयाँ नाघेको छ । वणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको कुल निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी राष्ट्र बैंकको प्रतिवेदनअनुसार यही कात्तिक महिनाको दोसो सातासम्ममा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ७४ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको हो । यस अवधिमा सञ्चालनमा रहेका ५४ बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम भने ५६ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा वाणिज्य बैंकहरुले मात्र भने ६७ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुले भने सात खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी छ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । पछिल्लो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) भने ७४ दशमलव २५ प्रतिशत रहेको छ । यो सीडी रेसियोलाई आधार मान्दा बैंकिङ क्षेत्र अहिले पनि सात खर्ब रुपैयाँभन्दा बढी रकम थप कर्जा दिन सक्ने अवस्थामा रहेको छ ।
तर बजारमा नयाँ कर्जाको माग नहुँदा बैंकिङ क्षेत्र अहिले अधिक तरलताको समस्याबाट पिरोलिँदै आएका छन् । यसलाई नियन्त्रणमा राख्नको लागि राष्ट्र विभिन्न किसिमका अल्पकालीन तथा दीर्घकालीन प्रकृतिका मौद्रिक उपकरण जारी गर्दै आएको छ । बैंकिङ क्षेत्रमा अहिले अधिक तरलता रहेका कारण बैंक तथा वित्तीय संस्थाहरुबीच एक आपसमा अल्पकालीन अवधिका लागि हुने अन्तर बैंक कारोबारको ब्याजदर घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको यही कात्तिकको पहिलो सातासम्म बैंकिङ क्षेत्रमा अन्तरबैंक कारोबारको ब्याजदर दुई दशमलव ७५ प्रतिशत मात्र रहेको छ । यसअघि राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको दुई महिना अर्थात् भदौ मसान्तसम्मको तथ्यांकअनुसार भने आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा वाणिज्य बैंकहरूको एक खर्ब ९८ अर्ब नौ करोड र अन्य वित्तीय संस्थाहरूको ३० अर्ब ६५ करोड रुपैयाँ समेत गरी कुल दुई खर्ब २८ अर्ब ७४ करोडको अन्तर–बैंक कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको एक खर्ब ९० अर्ब १० करोड र अन्य वित्तीय संस्थाहरूको तीन अर्ब ६० करोड गरी कुल एक खर्ब ९३ अर्ब ७० करोडको अन्तरबैंक कारोबार भएको थियो । सोअनुसार २०८१ भदौमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर दुई दशमलव ८९ प्रतिशत रहेकोमा २०८२ भदौमा दुई दशमलव १३ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८१ भदौमा तीन प्रतिशत रहेकोमा २०८२ भदौमा दुई दशमलव ७५ प्रतिशत
रहेको छ ।
राष्ट्र बैंकका अनुसार २०८२ भदौमा वाणिज्य बैंकहरूको औसत आधारदर पाँच दशमलव ७२ प्रतिशत, विकास बैंकहरूको आठ दशमलव शून्य नौ प्रतिशत र फाइनान्स कम्पनीहरूको आठ दशमलव ७७ प्रतिशत रहेको छ । २०८१ भदौमा वाणिज्य बैंकहरूको औसत आधारदर सात दशमलव ४९ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव १५ प्रतिशत र फाइनान्स कम्पनीहरूको १० दशमननलव ६५ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार २०८२ भदौमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ९६ प्रतिशत, विकास बैंकहरूको पाँच दशमलव ५८ प्रतिशत र फाइनान्स कम्पनीहरूको पाँच दशमलव ७३ प्रतिशत रहेको छ ।