दोलखा । दोलखामा हिमपहिरोमा परेर सात जनाको मृत्युु भएको छ । गौरीशंकर गाउँपालिकाअन्तर्गत पर्ने रोल्वालिङ हिमशृङ्खलाअन्तर्गतको यलुङ–रि हिमालको बेसक्याम्पमा हिम पहिरो जाँदा सात जनाको मृत्यु भएको हो भने चार जना बेपत्ता रहेका छन् ।
मृत्यु हुनेमा पाँच जना विदेशी र दुई नेपाली आरोही रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । हिमपहिरोमा परेर मृत्यु हुनेमा अमेरिकी नागरिक तीन जना, क्यानडाका एक र इटालीका एक गरी पाँच जना विदेशी छन् । यलुङ–रि आरोहणका लागि सोमबार बिहान करिब १० बजे ५ विदेशीसहित १० नेपाली पथप्रदर्शक त्यसतर्फ गएका थिए ।
बिहान करिब साढे १० बजे आरोहणमा सहभागी सबैलाई हिमपहिरोले पुरेको हो । पहिरोमा हराइरहेका अन्य चार जनाको पनि उद्दार तथा खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।