काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बिहीबार आफ्नो २१औँ वार्षिकोत्सव मनाएको जानकारी दिएको छ । सो अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला व्यक्ति र निकायलाई धन्यवादज्ञापन गरेका थिए । उनले आगामी दिनमा सांग्रिला डेभलपमेन्ट बैँक अझ बलियो भएर अघि बढ्ने विश्वास व्यक्त गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अहिलेसम्मको यात्रामा साथ दिने सबै सञ्चालक समितिका पदाधिकारी, कर्मचारी, ग्राहक, नियमनकारी निकाय तथा सेयरधनीहरुलाई धन्यवादज्ञापन गरेका थिए । उनले लामो सम्बन्धलाई अझ उत्कृष्ट आधुनिक र स्मार्ट सेवाका साथ आगामी दिनमा अझ प्रगाढ र सुमधुर बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
वार्षिकोत्सवको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले बाँड्दै न्यानोपन जोड्दै आफ्नोपन अभियान घोषणा गरेको छ । लिड फर नेपाल नामक संस्थासँगको सहकार्यमा सञ्चालन गरिने यस अभियानअन्तर्गत बैंकका १० वटा क्लस्टरमार्फत न्यानो कपडा संकलन गरी इलामका बाढीपहिरो प्रभावित नागरिकलाई प्रदान गरिने बैंकले बताएको छ । यो अभियानमा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट पनि ज्याकेटलगायत न्यानो कपडा उपलब्ध गराइने बैंकको भनाइ छ ।
यसैगरी, वार्षिकोत्वसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा सेवाको ५, १० र १५ वर्ष पूरा गरेका २० जना कर्मचारीलाई सम्मान गरिएको थियो ।