गण्डकी । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्यटकीय राजधानी पोखरा जोड्ने पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । कास्की र पर्वत खण्डको मुख्य सडक बिग्रँदा सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेकोले यात्रु र सवारीचालकलाई सास्ती भएको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीले बताए ।
“सहज र निर्वाध रूपले गाडी चलाउन सक्ने अवस्था अहिले छैन, ठाउँठाउँमा सडक भत्केको छ, कतै सडक नै भासिएको छ, कहीँ ठुल्ठूला खाल्डा परेका छन्”, उनले भने, “सवारीसधानको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।” केसीले शीघ्र सडक मर्मत नगरे हिउँदमा धुलोको समस्या निम्तने बताए । वर्षायाम सकिएलगत्तै सडक मर्मत गर्नुपर्नेमा अझै कामको सुरसार नदेखिएको उनको भनाइ छ ।
सडक डिभिजन कार्यालय, पोखराका सबइन्जिनियर लोकेश पौडेलले गत वर्षायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेको बताए । “यसपालि धेरै ठाउँमा सडक बिग्रेको छ, नियमित मर्मतसम्भारका लागि ठेक्का प्रक्रिया पनि टुङ्गिसकेको छ”, उनले भने, “कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म गरी दुई खण्डमा मर्मतसम्भारको काम हुन्छ ।” शिवालय निर्माण सेवाले मर्मतको ठेक्का पाएको उनले बताए ।
सबइन्जिनियर पौडेलले निर्माण कम्पनीले दसैँ, तिहारअघि नै मर्मतसम्भारको काम सुरु गर्ने तयारी गरे पनि बीचमा भएको वर्षात्, चाडबाडको बिदा आदि कारणले केही ढिलाइ भएको बताए । कार्यालययले तत्काल मर्मतसम्भारको कामलाई गति दिनेगरी आवश्यक पहल लिने उनको भनाइ छ । “मर्मतसम्भारका लागि बजेट कम हुने हुँदा सबै ठाउँको सडक बनाउन असम्भव देखिएको छ”, उनले भने, “बजेटले भ्याएसम्मको काम सयममै हुन्छ ।”