काठमाडौं । शैक्षिक परामर्श संस्था ईडीएफ–जाम्बोरीले नेपाली विद्यार्थीका लागि जर्मनी, फिनल्यान्ड, बेल्जियम र नेदरल्यान्डलाई रणनीतिक अध्ययन गन्तव्यका रूपमा औपचारिकरूपमा अघि सारेको छ ।
संस्थाले विश्वस्तरीय, किफायती र करियरकेन्द्रित शिक्षा खोज्ने नेपाली विद्यार्थीहरूको मागलाई मध्यनजर गर्दै युरोपेली शिक्षालाई परम्परागत गन्तव्यहरू जस्तै ब्रिटेन, अमेरिका र अस्ट्रेलियाका विकल्पका रूपमा यी देशहरुलाई स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ । ईडीएफ–जाम्बोरीका अनुसार युरोप अहिले विश्वकै सबैभन्दा पहुँचयोग्य र मूल्य–केन्द्रित शिक्षा गन्तव्य बनेको छ । हाल विद्यार्थीहरू डिग्रीभन्दा बढी आर्थिक दिगोपनासहित अन्तर्राष्ट्रिय अनुभव र अध्ययनपछिका अवसरको खोजीमा छन् । यसका लागि युरोप अत्यन्त सहज भएको संस्थाले जनाएको छ । संस्थाका अनुसार हालसम्म पाँच हजारभन्दा बढी विद्यार्थीहरूलाई सफलरूपमा विश्वका पाँच सयभन्दा बढी विश्वविद्यालयमा पठाइएको छ । भिसा स्वीकृतिदर ९५ प्रतिशत रहेको दाबी गर्दै ईडीएफ–जाम्बोरीले नेपालको शिक्षा परामर्श क्षेत्रमा अग्रस्थान कायम राखेको जनाएको छ ।
संस्थाका अनुसार जर्मनीले सार्वजनिक विश्वविद्यालयहरूमा ट्युसन–मुक्त शिक्षा प्रदान गर्दै प्रत्येक सेमेस्टरमा करिब २००–३५० युरो मात्रै मात्र शुल्क लिने बताइएको छ । विद्यार्थीहरूलाई १८ महिनासम्म अध्ययनपछिको कार्य भिसा उपलब्ध हुन्छ, जसअन्तर्गत उनीहरूले बीएमडब्लू, साइमेन, सापजस्ता बहुराष्ट्रिय कम्पनीमा अवसर पाउन सक्नेछन् ।
फिनल्यान्ड जुन विश्वकै ‘सबैभन्दा खुसी देश’ मानिन्छ, यहाँ वार्षिक छ हजारदेखि १८ हजार युरो शुल्कसहितका कार्यक्रम र दुई वर्षको पोस्ट–स्टडी वर्क परमिट उपलब्ध छन् । प्राविधिक नवप्रवर्तन, गेमिङ, डिजाइन र दिगो विकास क्षेत्रमा देश अग्रणी मानिन्छ । बेल्जियम, जुन युरोपेली संघको मुख्यालय पनि हो, यसमा सार्वजनिक संस्थानहरूले ८३५–४,१७५ युरोसम्मको शुल्क लिन्छन् । अंग्रेजी, फ्रेन्च र डच भाषामा कार्यक्रमहरू पढ्न सकिनेछ भने स्नातकपछि १२ महिनाको रोजगार खोजी भिसा पनि प्रदान गरिन्छ । नेदरल्यान्डले छ हजारदेखि १५ हजार युरो वार्षिक शुल्कमा दुई हजार एक सयभन्दा बढी अंग्रेजी कार्यक्रमहरू उपलब्ध गराएको छ ।