काठमाडौं । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता संरक्षणका लागि सामुदायिक संलग्नतामा केन्द्रित कुन्मिङ जैविक विविधता कोष परियोजनाको दुई दिने कार्यशाला फुङ्लिङमा सम्पन्न भएको छ ।
कार्यशाला आठ महिनासम्म सञ्चालन भएको थियो । कार्यशालाले हिउँ चितुवा र रेडपाण्डाजस्ता लोपोन्मुख प्रजातिहरूको घर रहेको महत्वपूर्ण जैविक विविधता हटस्पट कञ्चनजङ्घा संरक्षण क्षेत्रको सुरक्षाका लागि आधुनिक प्रविधि र आदिवासी ज्ञानलाई सफलतापूर्वक सदुपयोग गरेको जनाइएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ नेपाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाडसँगको सहकार्यमा युनेस्कोद्वारा कार्यान्वयन गरिएको यस परियोजनाले स्थानीय सरोकारवालाहरूलाई सशक्त बनाउनमा ध्यान केन्द्रित गरेको थियो ।
परियोजनाको मुख्य उपलब्धि भनेको आदिवासी जनता र स्थानीय समुदायको विशेषज्ञताका साथ आधुनिक वैज्ञानिक अनुगमन उपकरणहरूको सफल एकीकरण थियो । यसमा समुदाय–नेतृत्वको जैविक विविधता अनुगमन प्रणाली स्थापना गर्नका लागि ट्रेल क्यामेरा र जीपीएस उपकरणहरुको स्थापना पनि समावेश छ । यी उपकरणहरू जडान गर्नुपूर्व, फुङ्लिङमा व्यावहारिक तालिमसहित क्षमता विकास कार्यशालाहरू आयोजना गरिएका थिए । ‘प्रकृति संरक्षणमा हामी सबैको भूमिका छ र हामीले त्यो निर्वाह गर्नैपर्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई नेपालकोे ‘बायोस्फियर रिजर्भ’ घोषणा गरेर मात्र हामी हाम्रा प्राकृतिक स्रोतको दिगो सुरक्षा गर्न सक्छौँ । सामूहिक प्रयासले यो सम्भव छ, हामी त्यसका लागि पूर्णरूपमा तयार छौँ’, कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बू लिम्बुले भने ।
सुरुदेखि नै संरक्षणको नेतृत्व गर्दै आएका स्थानीय समुदायलगायत सरोकारवालाहरूसँग ट्रेल क्यामेरा अनुगमनबाट प्राप्त नतिजा र ग्रिन लिस्ट मापदण्डहरुसँगकोे मूल्याड्ढनलगायत परियोजनाका मुख्य उपलब्धिहरू कार्यशालामा प्रस्तुत गरिएको थियो । कार्यशालामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्जस्ता सरोकारवालाहरूलाई परियोजनाको नतिजा प्रमाणीकरण र सामूहिकरूपमा व्यावहारिक, सरोकारवाला–सञ्चालित सिफारिसहरू तयार गरिएको थियो । यी सिफारिसहरूले कञ्चनजङ्घा संरक्षण क्षेत्र लागि आईयुसीएन ग्रिन लिस्ट र युनेस्को बायोस्फियर रिजर्भजस्ता सम्भावित अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्ने दीर्घकालीन दृष्टिकोणलाई समर्थन गर्छन् । कार्यशालाको दौरानमा नेपालमा जैविक विविधता संरक्षण शिक्षालाई प्रवर्द्धन गर्न तयार गरिएको माध्यमिक विद्यालय तहका लागि एउटा स्रोत पुस्तिका (व्यावहारिक मार्गनिर्देशन) कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाई हस्तान्तरण गरिएको थियो ।