काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् ।
केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै मन्त्री घिसिङले विद्युतीय गाडीको प्रयोग बढिरहेको र भन्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरेर इन्डक्सन अथवा वैकल्पिक ऊर्जाको प्रवर्द्धनका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
अहिले चार्जिङ स्टेशनको सहजीकरणका लागि यसको नीति परिवर्तन गर्न लागिरहेको जानकारी दिदैं मन्त्री घिसिङले सिँचाइको क्षेत्रमा सोलारको प्रयोगलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भनेर कार्यायोजना बनाइरहेको जानकारी दिँए । उनले सरकारको नीति सोलारको प्रवर्द्धन रहेको स्पष्ट पारे ।
मन्त्री घिसिङले हावाबाट बिजुली निकाल्ने प्रविधिको विकास गर्नतर्फ सरकारको ध्यान गएको र यसका लागि काम गर्न इच्छुक निजी क्षेत्रलाई आह्वान गरे । यसमा निजी क्षेत्रले खासै चासो नदिएको पाइएको उल्लेख गर्दै उनले भने, “वीन पावरमा कोही चाहना राख्छ भने सरकारले सहयोग गर्छ ।”
विकट ठाउँ र विपन्न परिवारका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ठूलो योगदान गरेकामा प्रशंसा गर्दै मन्त्री घिसिङले अझै धेरै गर्न बाँकी रहेको औँल्याए । उनले वैकल्पिक ऊर्जाको कार्यक्षेत्र धेरै बढेकाले अझै प्रभावकारी रूपमा काम गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जलवायु परिवर्तनको असर कम गर्न, ऊर्जा दक्षता वृद्धि र कार्वन उत्सर्जन कटौतीमा ठूलो योगदान पुर्याएको मन्त्रालयका ऊर्जा सचिव चिरञ्जीवी चटौतले स्मरण गरे । उनले नागरिकमा विद्युतको पहुँच शतप्रतिशत पुर्याउने सरकारको लक्ष प्राप्त गर्न र ग्रामिण क्षेत्रमा विद्युत् पुर्याउन केन्द्रको महत्वपूर्ण भूमिका हुने बताए ।
वैकल्पिक ऊर्जाको विकासका लागि केन्द्रले आफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै लगेको जानकारी दिँदै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सौर्य ऊर्जा, सिँचाइ, खानेपानी, फलामे सुधारिएको चुलोलगायत क्षेत्रमा काम गरिरहेको बताए । उनले आठवटा कार्वन उत्सर्जन कटौतीका आयोजनामा काम गरी ३६ मिलियन अमेरिकी डलर आम्दानी गर्न सफल भएको जानकारी दिए । हाल १३६ स्थानीय तहसँग साझेदारी भएको उनले बताए ।
आउँदो पाँच वर्षमा १० लाख घरधुरीमा पुग्ने लक्ष्य राखिएको उल्लेख गर्दै कार्यकारी निर्देशक ढकालले सबै प्रकारका प्रविधि उपयोग गर्ने ३७ लाख घरधुरीमा पहुँच पुर्याउने योजना रहेको बताए । “यसबाट अहिले ४० हजार रोजगारी सिर्जना भएको छ”, उनले भने । सो कार्यक्रममा मन्त्री घिसिङले सौर्य तापीय मार्गचित्र तथा कार्यान्वयनन योजनाको विमोचन गरे ।