चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जिल्ला खेलकुद विकास समितिले मंगलबारदेखि नारायणी नदी किनारमा आयोजना गरेको बृहत् खेलकुद तथा व्यापारिक महोत्वसको उद्घाटन गर्दै खेलक्षेत्रको विकासका लागि खेलाडीलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताएका छन् ।
उनले खेलाडीहरुलाई व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । टेलिफोनबाट महोत्सवलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रको विकास गर्न सके राज्यको विकास गर्न सहयोग पुग्ने बताए । खेललाई पर्यटनसँग जोडेर अघि बढाउन सकेमा मात्र देशको अर्थतन्त्र चलायमान बन्ने उनको भनाइ थियो ।
खेलाडी उत्पादन गरेर अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराउन र विजयी बनाउन यस्ता महोत्सवहरु आवश्यक रहेको उनको धारणा थियो । कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्यहरु उत्तम जोशी, मायाँ श्रेष्ठ, गीता गुरुङ, बागमती प्रदेशको खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीलगायतले खेल क्षेत्रको विकासमा सबै तहका सरकार लाग्नुपर्नेमा जोड दिए । तीनै तहका सरकार लागेमा मात्र खेल क्षेत्रको विकास र खेलाडीहरुको मनोबल उच्च हुने उनीहरुको भनाइ थियो ।
महोत्सव अवधिभर विभिन्न खेल विधाका ८०० खेलाडीले आफ्नो कला देखाउनेछन् । मंगलबारदेखि सुरु भएको महोत्सव मङ्सिर २ गतेसम्म सञ्चालन हुने छ । यसै क्रमका बिच भलिबल, कराते, तेक्वान्दो, कवड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, बुद्धिचाललगायतका प्रतियोगिताहरु हुने आयोजकले जनाएको छ ।