काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले विपन्न वर्ग क्षेत्रमा कर्जा घटाएका छन् । पछिल्लो दुई वर्षयता विपन्न वर्गको कर्जा घटेको देखिएको हो । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा कुल ५६ खर्ब १७ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये पाँच दशमलव ५२ प्रतिशतका दरले हुने दुई खर्ब ७९ अर्ब आठ करोड ७० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको छ ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव सात प्रतिशत अर्थात् २६ अर्ब ६२ करोड ३० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्सहरुले ५२ खर्ब २३ अर्ब २० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा मात्र कुल छ दशमलव २२ प्रतिशतका दरले हुन आउने तीन खर्ब पाँच अर्ब ७१ करोड रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको थियो ।
चालू आवको भदौ मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र कुल ४९ खर्ब ९१ अर्ब ३४ करोड १० लाख रुपैयाँ बराबरको कर्जा प्र्रवाह गरेका छन् । उक्त कर्जामध्ये पाँच दशमलव ४० प्रतिशतका दरले हुन आउने दुई खर्ब ४२ अर्ब ७६ करोड ९० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १९ अर्ब ५५ करोड ८० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले कुल ४६ खर्ब १८ अर्ब एक करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा छ दशमलव शून्य तीन प्रतिशतका दरले हुन आउने दुई खर्ब ६२ अर्ब ३२ करोड ७० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार चालु आवको भदौ मसान्तसम्ममा विकास बैंकहरुले भने कुल पाँच खर्ब २२ अर्ब ८० करोड ४० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दा छ दशमलव ६१ प्रतिशतका दरले हुन आउने ३२ अर्ब नौ करोड ७० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव १३ प्रतिशत अर्थात् पाँच अर्ब ४७ करोड १० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा विकास बैंकहरुले कुल पाँच खर्ब तीन अर्ब ६५ करोड २० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दा सात दशमलव ७४ प्रतिशतका दरले हुन आउने ३७ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरुले भने चालू आवको भदौ मसान्तसम्ममा कुल एक खर्ब तीन अर्ब ३६ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दा पाँच दशमलव ४८ प्रतिशतका दरले हुन आउने चार अर्ब २२ करोड २० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ७९ प्रतिशत अर्थात् एक अर्ब ५९ करोड ४० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुले कुल एक खर्ब एक अर्ब ५४ करोड १० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दा सात दशमलव २७ प्रतिशत दरले हुन आउने पाँच अर्ब ८१ करोड ६० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।