काठमाडौँ । स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नेपाल एपीएफ अस्पताल बलम्बुमा ‘एपीएफ नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्सेस’ सञ्चालनमा ल्याइएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार एक कार्यक्रमका बीच सो इन्स्टिच्युटको उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले यस प्रवीणता प्रमाणपत्र तह नर्सिङ कोर्षले स्वास्थ्य सेवा क्षेत्रमा योग्य र दक्ष नर्सहरु उत्पादन गर्ने बताए । नर्सिङ पेशा स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डको रुपमा रहेको भन्दै उनले स्वास्थ्यकर्मीहरुलाई आधुनिक, विशेषज्ञ, व्यावसायिक सीप प्रदान गर्नुको साथै मानवीय सेवाप्रति समर्पित बनाउन थप मद्दत पुग्ने उल्लेख गरे । महानिरीक्षक अर्यालले यो कोर्षले नर्सिङ क्षेत्रमा नवप्रर्वद्धन, व्यावसायिक, नैतिक तथा संस्कृति विकास गर्न प्रेरित गर्दै स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रिय मापदण्डस्तरको बनाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक डा.रुपक महर्जनले आगामी दिनहरुमा थप शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिए । इन्स्टिच्युटका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. महेन्द्रराज श्रेष्ठले गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गरी दक्ष नर्स, स्वास्थ्यकर्मी र प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ इन्स्टिच्युटको स्थापना गरिएको बताए । सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रबाट सञ्चालन गरिएको यस इन्स्टिच्युटको २०८२ साल वैशाख २६ गते प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट आशयपत्र प्राप्त भएपश्चात् औपचारिकरुपमा कार्य सञ्चालन गरिएको थियो । सीटीईभीटीबाट गत साउन ७ गतेको सम्बन्धनपत्र प्राप्त भएर यसै शैक्षिक सत्रदेखि प्रवीणता प्रमाणपत्र तह नर्सिङ सुरु गरिएको हो । ईन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा ४० जना विद्यार्थीको सिट रहेको छ भने शैक्षिक कार्यक्रम तीन वर्ष अवधिको रहेको छ ।
इन्स्टिच्युटमा हालसम्म सःशुल्कतर्फ ३६ जना र छात्रवृत्तितर्फ तीन जना गरी ३९ जना विद्यार्थी भर्ना प्रक्रिया पूरा भई अध्ययन कार्य सुरु भएको छ भने एक जना छात्रवृत्तितर्फको भर्ना हुने प्रक्रियामा रहेको छ । यसमध्ये बहालवाला, अवकाशप्राप्त तथा अमर सशस्त्र प्रहरी कर्मचारीका सन्तति आठ जना र एक जना स्थानीय चन्द्रागिरी नगरपालिकाको बासिन्दालाई प्रदान गरिएको हो ।