राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिँदैछ। बयानका लागि उनलाई ललितपुरको नक्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालयमा पुर्‍याइएको हो। सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो। सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा लामिछाने हाल कारागारमा रहेका छन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी नक्खु कारागारबाट बाहिर निस्किएको विषयमा आयोगले बयान लिइरहेको हो। त्यस दिन कारागार प्रशासनले ‘सुरक्षा दिन नसक्ने’ भन्दै पत्र पठाएको आधारमा लामिछाने बाहिर आएको बताइएको छ। आयोगले लामिछानेकी पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसँग पनि बयान लिने तयारी गरेको जनाएको छ।