काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)ले औपचारिकरूपमा एसिया–प्रशान्त एमच्याम्स (एमच्याम अफ एसिया प्यासिफक)को सदस्यता प्राप्त गरेको छ ।
सदस्यताप्राप्त गरेसँगै नेपालले २० भन्दा बढी अमेरिकी चेम्बरहरूको महत्वपूर्ण सञ्जालमा आफ्नो स्थान सुरक्षित गरेको छ । यो उपलब्धि नेपालको निजी क्षेत्रका लागि ऐतिहासिक र महत्वपूर्ण भएको एमच्यामको भनाइ छ । एमच्याम नेपालले अमेरिकी चेम्बर अफ कमर्सअन्तर्गत विश्वव्यापीरूपमा मान्यता प्राप्त १३०औँ चेम्बरका रूपमा आफ्नो स्थान बनाएको छ । यससँगै नेपालले भारत, चीन, अस्ट्रेलिया, जापान, थाइल्यान्डजस्ता क्षेत्रीय एमच्याम्ससँगै आफ्नो व्यावसायिक नेटवर्कलाई थप सशक्त बनाएको छ । गत अक्टोबर २९ मा आयोजित एमच्याम अफ एसिया प्यासिफकको बोर्ड बैठकमा एमच्याम नेपाललाई औपचारिकरूपमा नयाँ सदस्यको रूपमा स्वागत गरिएको थियो । एमच्याम नेपालका कार्यकारी निर्देशक अमीर थापाले नेपालको अमेरिकी व्यापार सहभागिता प्रवद्र्धन र दुई देशबीचको व्यापार सम्बन्ध विस्तारमा आफ्नो प्रतिबद्धता दोहो¥याए । उनले विगत तीन वर्षमा चेम्बरको वृद्धि, सदस्यता र अभिव्यक्ति पहलबारे पनि जानकारी दिएका थिए ।
एमच्याम अफ एसिया प्यासिफिक नेटवर्कमार्फत एमच्याम नेपालका सदस्यहरूले अब प्रमुख क्षेत्रीय व्यापार सम्मेलन, नीति संवाद र अभिव्यक्ति प्लेटफर्महरूमा पहुँच पाउनेछन् । यसमा वार्षिक एमच्याम नेपाल अथवा एसिया प्यासिफिक बिजनेस समिट र अमेरिकी राजधानी वासिङ्टनमा हुने डोरनक डेजिग्नेसन समावेश छन् । यसबाट नेपालको व्यापारिक सम्भावना बढाउने, अवसर सिर्जना गर्ने र विदेशी साझेदारी आकर्षित गर्न अवसर प्रदान गर्नेछ । एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले नेपाल रणनीतिकरुपमा महत्वपूर्ण मोडमा पुगेको बताए । उक्त सदस्यताले नेपाललाई एसियाको व्यापारिक संवादमा केन्द्रमा ल्याउने जानकारी दिए । योसँगै संस्थापक अध्यक्ष अजित विक्रम शाहले नेपालका उद्यमीहरूले अब क्षेत्रीय मञ्चमा आफ्नो आवाज राख्ने मौका पाएको उल्लेख गरे ।
नेपालमा हाल ६१ भन्दा बढी विश्वस्तरीय कम्पनी सञ्चालनमा छन् । एमच्यामको नयाँ क्षेत्रीय भूमिकाले नेपालको निजी क्षेत्रको वृद्धि, लगानी र अवसरलाई तीव्र बनाउने विश्वास गरिएको छ ।