काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई सबैका लागि समान, पहुँचयोग्य र अवसरमूलक बनाउन पहिलोपटक बहिरा व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सुरु गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोगमा राष्ट्रिय बहिरा महासंघ नेपाल (एनडीएफएन) र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले संयुक्तरूपमा यो तालिम सञ्चालन गरेका हुन् । तालिमलाई नेपालमा समावेशी पर्यटन विकासका लागि ‘टर्निङ पोइन्ट’का रूपमा हेरिएको छ । पहिलो चरणमा सात हप्तासम्म सञ्चालन हुने यस तालिममा देशभरका २५ जना बहिरा युवा– १८ पुरुष र ७ महिला सहभागी छन् । उनीहरूलाई व्यावसायिक ट्रेकिङ गाइडका रूपमा दक्ष बनाउँदै रोजगारी, आत्मनिर्भरता र समावेशी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।
तालिममा सहभागीहरूले पर्वतीय सुरक्षा, प्राथमिक उपचार, पदमार्ग व्यवस्थापन, अतिथि स्वागत, सांस्कृतिक व्याख्या, वातावरणीय उत्तरदायित्व, वाइल्डलाइफ, संकट व्यवस्थापन र नेपालको भौगोलिक तथा सांस्कृतिक विविधताजस्ता विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गर्नेछन् । तालिम पूर्णरूपमा सांकेतिक भाषामार्फत सञ्चालन गरिएको छ, जसले सिकाइलाई सहज र सबैका लागि पहुँचयोग्य बनाउन मद्दत गर्नेछ । यो पहल समावेशी पर्यटनको दीर्घकालीन रणनीतिक यात्रा भएको बोर्डले जनाएको छ । यूएनडीपी र बोर्डको संयुक्त कार्यक्रम एसटीपीका परियोजना प्रबन्धक धर्मराज दवाडीले भने, ‘पर्यटन केवल आर्थिक क्षेत्र होइन, सामाजिक समानता र अवसर विस्तारको माध्यम पनि हो । हरेक नागरिकले पर्यटनबाट फाइदा लिन पाउनु नेपालको दिगो विकासको आधार हो ।’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का तथ्यांकअनुसार हाल विश्वभर करिब ४३ करोड मानिस सुन्ने क्षमतामा गम्भीर समस्या भएकका मानिसहरु रहेका छन् । तीमध्ये सात करोडभन्दा बढीले सांकेतिक भाषा प्रयोग गर्ने एसटीपीका परियोजना प्रबन्धक धर्मराज दवाडीले बताए । उनीहरूका लागि यस्तो पहल अन्तर्राष्ट्रियस्तरमा समावेशी पर्यटनको उत्कृष्ट नमुना बन्न सक्नेछ । तालिम उद्घाटन कार्यक्रममा वक्ताहरूले तालिमलाई नेपालको पर्यटन इतिहासमा नयाँ युगको सुरुवातका रूपमा व्याख्या गरेका थिए । उनीहरूले दृष्टिविहीन, शारीरिक अपांगता भएका र अन्य विशेष आवश्यकता भएका व्यक्तिहरूका लागि पनि यस्ता सीप विकास कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिए ।