काठमाडौं , भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको जाँचबुझ आयोगले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग औपचारिक बयान लिएको छ। आयोगका अनुसार लामिछानेसँगको बयानको मुख्य विषय २४ गते उनी कसरी कारागारबाट बाहिरिए भन्ने हो। प्रहरी प्रशासनले आयोगका काममा पूर्ण सहयोग नगरेपछि आयोगले लामिछानेको बयानलाई महत्वपूर्ण प्रमाणको रूपमा लिएको बताइएको छ। आयोग स्रोतका अनुसार, तत्कालीन नख्खु कारागारका जेलर सत्यराज जोशी र लामिछानेले दिएका बयानबीच समानता भेटिएको छ। ती दुवै बयानका आधारमा आयोगले थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ। जेलर जोशीले तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडीको दबाबमा कागजमा हस्ताक्षर गरेको स्वीकार गरेका छन्। उनले लामिछाने कारागारबाट निस्किएको एक घण्टापछि मात्र कागजमा सही गरेको बयान दिएका थिए। जोशीको बयानपछि आइतबार आयोगका पदाधिकारी नख्खु कारागारमा गएर लामिछानेसँग भेटेका थिए। भेटमा लामिछानेले आफू भागेर नभई गृह प्रशासन र प्रहरी नेतृत्वको सहयोगमा बाहिरिएको दाबी गरेका थिए। उनले आफ्नो भनाइलाई कानूनी रूपमा अभिलेख गर्न तयार रहेको बताएका थिए। बुधबार सिंहदरबारस्थित आयोग सचिवालयमा उपस्थित भएर लामिछानेले औपचारिक रूपमा बयान दिएका छन्। उनका भनाइ पुष्टि गर्नका लागि पत्नी निकिता पौडेल पनि सक्कल कागजातसहित आयोगमा उपस्थित थिइन्। आयोगले लामिछानेद्वारा बुझाइएका ती कागजात र बयानका आधारमा बिहीबारदेखि अन्य सम्बन्धित व्यक्तिहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ।