विश्वको आर्थिक राजधानी मानिने अमेरिकाको न्युयोर्कका नवनिर्वाचित मेयर जोहरन ममदानी नेपाली रेष्टुरेन्टमा पुगेर मस्म (म:म:) खाँदै सामाजिक सञ्जालमा चर्चामा आएका छन्।मेयरमा निर्वाचित भएपछि ममदानी बुधबार न्युयोर्कको ज्याक्सन हाइट्सस्थित ‘लालिगुराँस बिस्ट्रो’ नामक नेपाली रेष्टुरेन्टमा लञ्चका लागि पुगेका हुन्। ३४ वर्षीय ममदानीले नेपाली परिकारसँगको आफ्नो तस्बिर एक्स (ट्विटर) मा साझेदारी गरेका छन्, जसमा उनी मस्म लगायतका परिकारका साथ मुस्कुराइरहेको देखिन्छ। उनले लेखेका छन्, “मेयरमा निर्वाचित भएपछि पहिलो दिन बिहानैका अन्तर्वार्ता, बैठक र तयारीमा बित्यो, तर सांसद एओसी (एलेक्जान्द्रिया ओकासियो–कोर्टेज) सँगको लञ्च विशेष रह्यो।”तस्बिरमा ममदानीलाई गौतम बुद्धको तस्बिर अगाडि उभिएर फोटो खिचाउँदै देख्न सकिन्छ। उक्त नेपाली रेष्टुरेन्ट ‘लालिगुराँस बिस्ट्रो’ न्युयोर्कमा रहेका नेपाली समुदायबीच निकै लोकप्रिय मानिन्छ। ममदानी हाल न्युयोर्क सहरका पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बन्न सफल भएका छन्। उनी अफ्रिकामा जन्मिएका पहिलो व्यक्ति पनि हुन्, जो न्युयोर्कको मेयर बनेका हुन्।३४ वर्षको उमेरमा मेयर निर्वाचित भएका ममदानी आगामी जनवरी १ देखि पदभार ग्रहण गर्नेछन्। यससँगै उनी एक शताब्दीभन्दा बढी समयपछि न्युयोर्कका सबैभन्दा कान्छा मेयर बन्ने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ममदानीलाई पराजित गर्न भरपूर प्रयास गरे पनि, उनले पूर्व गभर्नर एन्ड्र्यू कुमो र रिपब्लिकन नेता कर्टिस स्लिवालाई हराउँदै ऐतिहासिक विजय हासिल गरेका हुन्।