काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको बताएका छन् । नागरिक पहलले आयोजना गरेको ‘राष्ट्रहित सर्वोपरी कन्क्लेभ’मा बुधबार उनले पछिल्लो समय लगानी बढाउन नसकेको अवस्थामा भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल थप कमजोर भएको बताएका हुन् ।
‘विगत एक दुई वर्षदेखि नै पैसा भए पनि लगानी विस्तार नभएको अवस्था थियो, हामीले ठूलो लगानी ल्याउन सकेका थिएनौँ, यस्तो अवस्थामा जेनजी आन्दोलन भएपछि यसले थप समस्यामा पारेको छ’, उनले भने । सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा घुसपैठ भएकाले निजी र सरकारी संरचनामा आक्रमण भएको धारणा राखेका थिए ।
जेनजीको आन्दोलन प्रारम्भिक उद्देश्य र चाहनाअनुसार अघि बढे पनि घुसपैठ भएकाले आन्दोलन हिंसात्मक भएको उनको दाबी थियो ।