काठमाडौँ । विदेशी लगानीकर्ताले नेपालमा गरेको औद्योगिक तथा व्यावसायिक लगानीबाट १० अर्ब रुपैयाँभन्दा बढी प्रतिफल लगेका छन् । गत १५ महिनामा विदेशी लगानीकर्तामार्फत नेपालबाट १० अर्ब २५ करोड ४७ लाख रुपैयाँ लाभांश उनीहरुले लगेका हुन् ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा छ करोड ७० लाख ८२ हजार रुपैयाँ लाभांश वितरण गरिएको उद्योग विभागले जनाएको छ । गत आर्थिक वर्षमा १० अर्ब १८ करोड ७६ लाख रुपैयाँ लाभांश वितरण गरिएको थियो । लगानी प्रतिबद्धताको तुलनामा न्यून लगानी भित्रिए पनि निरन्तर आएको वैदेशिक लगानी र त्यसको प्रतिफलस्वरुप लाभांश वितरण गरिएको हो ।
सेवा, पर्यटन र सञ्चार प्रविधमा लगानी गरेबापत् ठूलो लाभांश लैजाने गरेको विभागले जनाएको छ । यसका अलावामा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि र उत्पादनमूलक उद्योग तथा व्यवासाय सञ्चालन गरी मुनाफा लैजाने गरेको उद्योग मन्त्रालयले जनाएको छ । नेपाल उद्योग तथा व्यवसाय क्षेत्रमा लगानी गरेबापत विदेशीहरुले निरन्तर लाभांश लैजाने गरेको उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार मासिकरुपमा लाखौँ रकम लाभांशबापत लैजान गरेका छन् । उनीहरूले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखांकन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्यांकन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
१५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् । पछिल्लो १५ महिनामा मात्र नभई सो भन्दा अघि पनि निरन्तर लाभांश लगेको विभागका तथ्यांकमा देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब ३५ करोड ८५ लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा मात्र १६ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ लाभांश वितरण गरिएको छ । विभागले मासिकरूपमा लाखौं रकम लाभांश वितरण गर्दै आएको हुँदा लाभांश रकम मासिकरूपमा बढ्दै गएको देखिन्छ ।
यता विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार पछिल्लो समय लाभांश रकम लैजानको लागि आवेदन प्रक्रिया पूरा गर्नेको संख्या बढ्दै गएसँगै लाभांश रकम बढ्दै गएको हो । लगानी गरेपछि प्रतिफल लैजान प्रक्रियागत र कानुनीगत समस्या नभएसँगै रकम लैजाने क्रमले निरन्तरता पाएको हो । विदेशी लगानीकर्ताले लगानी गरेपछि लाभांश लैजाने मात्र नभई यहाँको नियमअनुरूप विभिन्न दस्तुरहरू बुझाउने गरेका छन् । चालु आवको पहिलो तीन महिनामा ३८ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । असोजमा मात्र एक करोड ३० लाख रुपैयाँ राजस्व संकलन भएको छ भने गत आवमा दुई अर्ब ७९ करोड पाँच लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
विभागले लाभांश वितरण राजस्व संकलनका साथै उद्योगको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए)लगायतका कामहरू गरेको छ । समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको पाइन्छ । सरकारले विदेशी लगानीलाई सहजीकरण गर्नका लागि स्वचालित मार्गबाट समेत लगानी भित्र्याउने र लाभांश वितरणको काम गरेको छ ।
विदेशी लगानीकर्ताले स्वचालित मार्गबाट नेपालमा लगानी गर्दा सातवटा औद्योगिक तथा व्यावसायिक क्षेत्रका ६० प्रकारका उद्योग तथा व्यवसायमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ । लगानीपछि प्रतिफलस्वरुप लाभांश लैजाने गरेका छन् । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।