काठमाडौं । नेपाल टेलिकमले मकवानपुर जिल्लाको चित्लाङमा एनटी फाइबर (एफटीटीएच) सेवाको विस्तार गरेको छ । कम्पनीले जिल्लाको पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर सेवाको विस्तार गरेको हो ।
थाहा नगरपालिका–९ मा रहेको श्रीस्वच्छन्द भैरव माध्यमिक विद्यालयमा कात्तिक १८ गते टेलिफोन तथा इन्टरनेट सेवासहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको सुरुवात भएको कम्पनीले जनाएको छ । ग्राहकको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थाहरुमा एफटीटीएच जडानको प्रक्रिया अगाडि बढिसकेको कम्पनीको भनाइ छ ।
हाल रेडियो व्याकहाउलबाट सेवाको सुरुवात गरिएको र ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न निकट भविष्यमा नै फाइबर व्याकहोलबाट सेवा प्रवाह गरिने कम्पनीले जनाएको छ । आगामी दिनमा टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना कम्पनीको रहेको छ ।