काठमाडौं । दिगो र वातावरणमैत्री यातायात प्रवद्र्धनका लागि अग्रसर मेटा ईभी नेपालले ‘इलेक्ट्रिक भेहिकल अवेयरनेस एन्ड एक्स्पिरियन्स प्रोग्राम’ आयोजना गर्ने भएको छ । यस कार्यक्रमको उद्देश्य नेपालमा विद्युतीय सवारीसाधनसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु र सर्वसाधारणलाई प्रत्यक्ष अनुभव प्रदान गर्नु हो ।
कार्यक्रममा सहभागीहरूले इन्जिनियर र प्राविधिक विज्ञहरूसँग संवाद गर्दै विद्युतीय सवारीसाधनको प्रविधि, यसको दिगोपन र वातावरणमैत्री फाइदाबारे जानकारी पाउने कम्पनीले जनाएको छ । साथै, इन्टरएक्टिभ खेल, प्रश्नोत्तर र उपहार कार्यक्रमहरूमार्फत सिकाइलाई रमाइलो बनाइने कम्पनीको भनाइ छ ।
भक्तपुरको ऐतिहासिक र सहरी वातावरणमा हुने टेस्ट राइड अनुभवले सहभागीहरूलाई शून्य उत्सर्जन यात्राको अनुभव दिलायो । यसमार्फत मेटा ईभीले ‘नेपालमै बनेको दिगो यातायात समाधान’ भन्ने आफ्नो दृष्टिकोणलाई सशक्त बनाउने लक्ष्य लिएको छ ।
मेटा ईभी नेपाल भक्तपुरमा आधारित अग्रणी विद्युतीय स्कुटर निर्माता कम्पनी हो, जसले स्थानीय असेम्बली, बहनयोग्य मूल्य र नेपालका सडक तथा जीवनशैली अनुकूल प्रविधि नवप्रवर्तनमा ध्यान केन्द्रित गर्दै आएको छ ।
यो कार्यक्रमले नेपालमा विद्युतीय सवारीसाधनप्रति जनविश्वास र प्रयोग बढाउँदै, दिगो र स्वच्छ यातायात प्रणालीतर्फ देशलाई अघि बढाउने अपेक्षा गरिएको छ ।