तम्घास । गुल्मीमा हालैको बेमौसमी वर्षाले पाँच करोडको धानबाली नष्ट भएको छ । यस वर्ष जिल्लामा सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार हजार ९०९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो ।
वर्षाले एक हजार २६० मेट्रिक टन धान नष्ट भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी गराए । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा त्यसलाई हिसाब गर्दा पाँच करोड बराबरको क्षति भएको हो ।
उनले गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने चौरासी फाँटमा ९९९ हेक्टरमा लगाइएको धानमध्ये ४० प्रतिशत नोक्सान भएको बताए । इस्मा गाउँपालिका–६ का कृष्णप्रसाद घिमिरेको काटिसकेको १८ रोपनी खेतको धानमा पनि क्षति भएको छ ।
त्यसैगरी, यो वर्षको प्राकृतिक विपत्तिबाट अधिक पीडित भएका अर्का किसान निराजन भण्डारीको पनि १९ रोपनी खेतमा काटेको धान भिजेको छ ।