काठमाडौं, पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले जेनजी (Gen-Z) पुस्ताका अगुवाहरुलाई राजनीतिमा जोस मात्र होइन, गहिरो विवेक र सतर्कता आवश्यक हुने बताएका छन्।
राजनीतिक संवाद समितिले बिहीबार काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले राजनीतिमा दृश्य मात्र नभई अदृश्य पक्षहरू पनि अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे।
डा. भट्टराईले भने, “राजनीतिमा ख्याल गर्नू, सबै कुरा दृश्य मात्र हुँदैनन्, अदृश्य पनि धेरै हुन्छन्। अहिले जोसमा सबै गर्न सकिन्छ जस्तो लाग्छ, तर वास्तविकता फरक हुन्छ। हात्तीसरह ठूला शक्तिसँग लड्न गाह्रो पर्छ, त्यसैले राजनीतिमा हरेक कदम सोचेर चाल्नुपर्छ।”
उनले नेपालको संविधानलाई “अपूर्ण तर सुधारयोग्य” दस्तावेजका रूपमा प्रस्तुत गर्दै भने, “हिजो हामीले अपूर्णतासहितको संविधान बनायौं। संविधान जारी भएको दिनमै मैले भनेको थिएँ — यो आधा गिलास भरिएको छ, आधा खाली छ। अब संघीयता लगायतका कुरा फ्याक्ने होइन, सुधार्दै लैजानुपर्छ।”
डा. भट्टराईले विगत १० वर्षदेखि वैकल्पिक राजनीतिक शक्तिको खोजीमा आफूहरू सक्रिय रहेको पनि बताए। उनले भने, “संविधान जारी भएको दिनदेखि नै बोल्ने बाबुराम यहीँ छ। अरू तीन टाउकाले १० वर्ष देश चलाए, त्यसविरुद्ध हामी लडिरहेका थियौं। अहिले तपाईंहरूको ऊर्जा र ताकत थपिएको छ, त्यसमा हाम्रो पूर्ण साथ छ।”
उनले अहिलेको संविधानले सुशासन र तीव्र आर्थिक वृद्धि दिलाउन नसकेको स्वीकार गर्दै यसको कारण “आधा गिलास खाली” अवस्थालाई मानेका छन्। उनले जेनजी पुस्तालाई संविधान र प्रणाली सुधारतर्फ सकारात्मक दृष्टिकोण राख्न आग्रह गरे।