काठमाडौं, नेपाली फुटबलको वर्तमान अवस्था प्रति गम्भीर चासो व्यक्त गर्दै नेपाल फुटबल खेलाडी संघअन्तर्गतका खेलाडी र समर्थकहरूले बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा धर्ना दिएका छन्।
उनले विभिन्न बहानामा ए डिभिजन लिग रोक्ने कार्य भइरहेको भन्दै त्यसले नेपाली फुटबलको विकासमा ठुलो असर पारेको आरोप लगाएका छन्। प्रदर्शनकारी खेलाडीहरूले छिटोभन्दा छिटो ए डिभिजन लिग सञ्चालन गर्न माग गरेका छन्।
एन्फा र ए डिभिजन क्लबहरूबीच यस वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिएका हुन्। असन्तुष्ट खेलाडीहरूले आफूहरूले जितेका मेडल एन्फालाई “उपहार”का रूपमा एन्फाको गेटमा झुण्डाएर विरोध जनाएका छन्।
नियमित लिग नहुँदा खेलाडी मारमा परेका र नेपाली फुटबल ओरालो लागेको भन्दै उनीहरूले एन्फाको वर्तमान नेतृत्व परिवर्तनको मागसमेत गरेका छन्।धर्नामा सहभागी खेलाडी अञ्जन बिष्टले भने, “नेपालमा फुटबलको भविष्य धमिलो हुँदै गएको छ। खेलाडीहरू देश छाड्न बाध्य भइरहेका छन्। यस्तो अवस्था आउन नदिन सबैले गम्भीर हुनुपर्छ।”
त्यस्तै राष्ट्रिय फुटबल टिमका अनुभवी खेलाडी रोहित चन्दले फुटबल गतिविधि चलायमान बनाउन र नयाँ खेलाडीलाई स्वदेशमै अवसर दिनुपर्ने आवश्यकता औंल्याए।फुटबलर विराज महर्जनले भने, “फुटबल गतिविधि निरन्तरता दिन प्रदर्शनमा उत्रिनुपर्ने अवस्था आउनु नै दुखद हो। एन्फाले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।”
धर्नामा सहभागीहरूले “मैदानभित्र र बाहिर फेयर प्ले चाहियो”, “फुटबलमा क्यालेन्डर होइन, मैदान चाहियो”, “एन्फा जाग” जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। एन्फाले ए डिभिजन लिग आगामी पुस महिनामा गर्ने निर्णय गरेपछि खेलाडी र समर्थकहरू असन्तुष्ट बनेका हुन्। खेलाडीहरूले भने तत्काल लिग सुरु नगरे फुटबलको भविष्य नै संकटमा पर्ने चेतावनी दिएका छन्।