इनरुवा, सुनसरीस्थित रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणप्रति बक्यौता रहेको प्रिमियम महसुलको पहिलो किस्ता तिरेको छ। पहिलो किस्ता तिर्नासाथ प्राधिकरणले विच्छेद गरिएको विद्युत लाइन पुनः जडान गरेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार रिलायन्सले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता महसुल बिहीबार बुझाएको हो।रिलायन्स स्पिनिङ मिल्सले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता तिरेको प्राधिकरणले जनाएको छ। यो उद्योगको कुल बक्यौता रकम ७५ करोड ३७ लाख रुपैयाँ रहेको छ। उक्त रकमलाई २८ किस्तामा विभाजन गरिएको र पहिलो किस्ताका रूपमा २ करोड ७७ लाख रुपैयाँ बुझाइएको प्राधिकरणले स्पष्ट पारेको छ। बक्यौता तिर्ने प्रक्रिया सुरु भएपछि प्राधिकरणले उद्योगको विद्युत आपूर्ति पुनः सञ्चालन गरेको हो।